सुरक्षा दिने प्रहरी नै जोखिमपूर्ण र असुरक्षित घरमा
जिल्ला प्रहरी कार्यालय, अछाम मातहतका विभिन्न प्रहरी यूनिट जोखिमपूर्ण घरमा बस्नुपर्ने बाध्यता छ । आफ्नै भवन नहुँदा जिल्लाका विभिन्न १९ वटा प्रहरी यूनिट भाडाका जोखिमपूर्ण घरमा असुरक्षित रुपमा बस्नुपर्ने बाध्यता भएको हो। जिल्ला प्रहरी कार्यालय लगायत नौवटा प्रहरी यूनिट मात्रै आफ्नै भवनमा बसेका छन् भने बाँकी प्रहरी यूनिट असुरक्षित र जोखिमपूर्ण घरमा बस्नुपर्ने बाध्यता रहेको जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले बताए।
सबैलाई सुरक्षा दिने प्रहरीले नै जोखिमपूर्ण र असुरक्षित घरमा बस्नुपर्दा निकै समस्या भएको प्रहरी नायब उपरीक्षक न्यौपानेको भनाई छ। लामो समयदेखि अरुको घरमा भाडा तिरेर बसेका प्रहरी यूनिटलाई पछिल्लो समय स्थानीय तहका कारण थप समस्या भएको छ। स्थानीय तहका कारण भाडा बढाउने र घर छोड्नका लागि ताकेता गर्ने समस्याका कारण भाडाका घर नै नपाउने जस्ता समस्या पनी बढेको प्रहरी नायब उपरीक्षक न्यौपानेले बताए। कालेकाँडा, शान्तडा, मेल्लेख, ढकारी र सिउडी प्रहरी चौकी अतिनै जोखिमपूर्ण घरमा बसेर सेवा दिइरहेको जिल्ला प्रहरी कार्यालय अछामको भनाई छ।
माथिल्लो निकायबाट सीमित मात्रामा बजेट आउने र उक्त मातहतका प्रहरी यूनिट सञ्चालन गर्न निकै समस्या हुने गरेको बताइएको छ। यस्तै, बेल्खेत, गैरीटाँड र तुर्माखाँदमा रहेका तीनवटा अस्थायी प्रहरी पोष्टका लागि आवश्यक व्यवस्थापनको काम कार्य स्थानीय तहसँग समन्वय गरेर भइरहेको छ। भौगोलिक हिसाबले निकै ठूलो र छरिएका बस्ती भएको अछाम जिल्लामा प्रहरीलाई शान्ति सुरक्षालगायतका सेवा दिन थुप्रै समस्या रहेको जनाइएको छ। जिल्लाभरिमा रहेका २८ वटा प्रहरी यूनिटमा ४०० जना प्रहरी कार्यरत रहेका छन्।
रासस