सुदूर नेपाललाई विश्वसँग जोड्दै

वजेटको समर्थन र विरोधमा सांसदहरु बिच जुहारी 

२०७५ वैशाख ११, ०९:४४

आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहराले आईतवार प्रस्तुत गरेको प्रदेश ७ सरकारको अल्पकालीन वजेटका सम्बन्धमा प्रदेश सभा बैठकमा छलफल सुरु भएको छ ।पहिलो दिन १४ जना प्रदेश सभा सदस्यले बजेट माथिको छलफलमा आफ्ना धारणा राखेका छन । संसद बैठकमा बजेट सम्बन्धी धारणा राख्ने सत्ताधारी र प्रतिपक्षी दलका प्रदेश सभा सदस्यहरु बिच जुहारी चलेको छ । सत्ताधारी दलका सांसदहरुले उत्कृष्ट बजेट आएको भन्दै बखान गरेका छन भने प्रतिपक्षी दलका सांसदहरुले अनुत्पादक क्षेत्रमा लगानी गरिएको बजेटले प्रतिफल नदिने भन्दै कडा आलोचना गरेका छन । 

८५ प्रतिसत बजेट अनुत्पादक क्षेत्रमा लगानी गर्ने गरी आएको बजेटले प्रतिफल नदिने भन्दै प्रतिपक्षी दलका सांसदहरुले सोमवारको प्रदेश सभा बैठकमा कडा विरोध गरेका हुन । पार्टीका कार्यकर्ताको भरणपोषण गर्ने गरी अनुदानमा मात्रै ठुलो रकम विनियोजन भएकोले यो वजेट शंसोधन हुनुपर्ने अन्यथा सरकारलाई कांग्रेंसको सहयोग नरहने नेपाली कांग्रेसका प्रदेश सभा सदस्य डाक्टर रणबहादूर रावलले चेतावनी दिए ।  सरकारले बजेटको ठुलो हिस्सा विभिन्न योजनाको संम्भाव्यता अध्ययनको शिर्षकमा छुट्याएको बिषयमा पनि प्रतिपक्षी सांसदहरुले आलोचना गरेका छन । उनीहरुले संम्भाव्यता अध्ययनका नाममा छुट्याईएको बजेट सदुपयोग हुनेमा आशंका गरेका छन । नेपाली कांगे्रसका प्रदेश सभा सदस्य श्यामलाल राना थारुले वजेट सही रुपमा तोकिएको शिर्षकमा खर्च हुनेमा शंका व्यक्त गरे । 

संसद बैठकमा प्रतिपक्षी दलका सांसदहरुले बजेटका बिषयमा कडा टिप्पणी गरेपछि सत्ताधारी दलका सांसदहरुले बचाउको प्रयास गरेका थिए । उनीहरुले छोटो समयका लागि आएको बजेट निकै मेहनतका साथ उत्कृष्ट ढंगले आएको दावी गर्दै विरोधका लागि विरोध गर्नुको कुनै तुक नभएको बताएका छन । अल्पकालीन वजेटमा नै चर्काे विरोध भएपछि आगामी बर्षको बजेटको विरोध थेग्न औषधी नै सेवन गर्नुपर्ने व्यङग्यात्मक अभिव्यक्ती माओवादी केन्द्रका प्रदेश सभा सदस्य महेशदत्त जोशीले दिए । 

तर प्रतिपक्षी दलका सांसदहरुले भने पहिलो पटक आएको बजेटलाई तीन महिनाका लागि मात्रै आएको भन्दै हलुका ढंगले सोच्न नहुने बताएका थिए । निरन्तरको आग्रहका वावजुत पनि प्रदेश सरकारले आश लाग्दो बजेट ल्याउन नसकेको कांग्रेसका प्रदेश सभा सदस्य भरत खड्काले वताए । सत्ताधारी र प्रतिपक्षी दलका सांसदहरुबिच बजेटका बिषयमा जुहारी चलेका बेला सत्तापक्षकै केही सांसदहरुले पनि बजेटले सबै क्षेत्रलाई समेट्न नसकेको भन्दै विरोधात्मक टिप्पणी गरेका थिए । आर्थिक टेवा पुग्ने क्षेत्रलाई बजेटले संबोधन गर्न नसकेको एमालेका प्रदेश सभा सदस्य हर्क कुँवरले वताए । चालु आर्थिक बर्षको बाँकी रहेको ३ महिनाका लागि प्रदेश सरकारले १ अर्व २ करोड ५ लाखको बजेट प्रस्तुत गरेको छ । उक्त बजेटका सम्बन्धमा आज पनि संसद बैठकमा छलफल हुदैछ । 
 

कमेन्ट लोड गर्नुस