भारतीय ट्याक्सी व्यावसायीको सुदूरपश्चिममा मनपरी, ट्राफिक प्रहरी मूकदर्शक
धनगढीः सुदूरपश्चिम प्रदेशमा भारतीय ट्याक्सी व्यवसायीहरुले मनपरी गर्ने गरेका छन्। भारतीय नम्बरका ट्याक्सी कैलाली–कञ्चनपुरसहित सुदूरपश्चिमका पहाडी जिल्लामासमेत यात्रु बोक्दै आएका छन्। भारतीय नम्बरका ट्याक्सीले नेपाली यात्रु बोक्न नमिल्ने भएपनि उनीहरुले भन्सार र ट्राफिक प्रहरीको मिलेमतोमा यात्रु बोक्दै आएका हुन्।
ट्याक्सी व्यवसायी देवसिँह साउँदले धनगढी विमानस्थल, सेती प्रादेशिक अस्पताल लगाएतका ठाउँमा भारतीय ट्याक्सी चालकसँग विवादसमेत हुने गरेको बताए। उनले भने, भारतमा पहेँले नम्बरको ट्याक्सी हुन्छ। कालोमा सेतो निजी सवारी हुन्छन्। निजी गाडीले पनि भाडामा यात्रु बोक्दै आएका छन्। भारतीय ट्याक्सीले पनि नेपाली यात्रु बोक्दै आएका छन्। हामीले ट्राफिक प्रहरी, यातायात विभागसम्म भनेका छौ। तर ट्राफिक प्रहरीले वास्ता गरेको छैन। भारतीय ट्याक्सीले नेपालमा व्यवसाय गर्ने अधिकार छैन। तर सुदूरपश्चिममा जतापनि चलेका छन्।’
ट्याक्सी व्यवसायीका अनुसार भारतीय नम्बरका ट्याक्सीले नेपाली यात्रुहरुलाई कम भाडामा सेवा दिने गरेका छन्। भारतीय ट्याक्सीको मूल्यसमेत कम हुने र भारतमा पेट्रोलियम पदार्थसमेत न्यून मूल्यमा पाउने भएकाले नेपाली ट्याक्सीले उनीहरुसँग प्रतिस्प्रधा गर्न सकिरहेका छैनन्। भारतबाट पर्यटकलाई सुदूरपश्चिममा ल्याउदा समस्या नभएपनि नेपाली यात्रुसमेत बोक्न थालेपछि समस्यामा रहेको ट्याक्सी व्यवसायीहरुले बताएका छन्।
एक ट्याक्सी चालकले भने, ‘भारतीय निजी गाडीमा यात्रा गर्न पाइयो। नेपालमा घुम्न मिल्यो। भारतीय पर्यटकलाई नेपाल ल्याउन मिल्यो। तर विमानस्थलबाट नेपाली यात्रुसमेत पहाडसम्म लैजान्छन्। धनगढीमा समेत उनीहरु छन्।’ उनीहरुले धनगढी विमानस्थलमा पार्कीङ्गसमेत गर्दै आएका छन्। प्रहरी, ट्राफिक प्रहरी र कैलाली भन्सारको मिलेमतोमा उनीहरुले नेपालमा व्यवसाय गर्दै आएका तर्क नेपाली ट्याक्सी व्यवसायीहरुको छ।
ट्याक्सी एकाइ कमिटिका अध्यक्ष भानदेव पनेरुका अनुसार सुदूरपश्चिममा ४० वटा ट्याक्सीले सेवा दिदै आएका छन्। उनले भने, ‘महाकालीका साथीहरुले भारतीय ट्याक्सीलाई बन्द गर्नु भएको छ। हामीले पलियासमेत जान पाउँदैनौ। भन्सारमा पनि भनेका थियौ। भन्सारका हाकिमले ट्याक्सीसँग मतलव नभएको बताए। विमास्थलमा भारतीय ट्याक्सी चालकसँग हाम्रो झगडा हुने गरेको छ। प्रहरीले पनि उनीहरुलाई सहयोग गर्दै आएको छ।’ सुदूरपश्चिमका सबै जिल्लामा भारतीय ट्याक्सीले यात्रु बोक्दै आएका भएपनि नेपाल प्रहरी र ट्राफिक प्रहरी मूकदर्शक हुने गरेका व्यवसायीले बताएका छन्।
जिल्ला प्रहरी कार्यालय कैलालीले भारतीय ट्याक्सीले यात्रु बोकेको नदेखेको बताएको छ। ‘भारतीय ट्याक्सीले नेपालमा यात्रु बोक्न मिल्दैन। नेपालमा व्यवसाय गर्न मिल्दैन। गाडी सञ्चालन गर्न नपाउने हैन, तर नेपालमा व्यवसाय गर्न मिल्दैन। हामीले फेला पारेका छैनौ। बेला बेला सूचना त आउने गरेको छ,’ जिल्ला ट्राफिक कार्यालय कैलालीका प्रमुख वीरेन्द्रसिँह जोहारीले बताए।