सुदूर नेपाललाई विश्वसँग जोड्दै

गहुँ भित्र्याउने बेला अब मकै र मुगीमास

२०७६ वैशाख ४, ११:२३

सामान्यतया गहुँ काट्ने बेलामा चैत वैशाखको उखरमाउलो गर्मी झेल्नुपर्छ। हपहपी पोल्ने चर्को गर्मीमा पानी पिउँदै किसान गहुँ काट्ने र भित्र्याउने गर्छन। तर यसपटक त्यस्तो छैन। प्रि–मनसुनको समय भएपनि अहिले हप्तामा दुई तीन पटक पानी परिरहेको छ। केही ठाउँमा हावाहुरी चट्याङसहित पानी परिरहेको छ। धेरै किसान गहुँ काटेर भित्र्याउन लागिरहेका छन्। 

वर्षाले पानीले गहुँ भित्र्याउन समस्या पारिरहेको छ। पानीले गहुँ बाली भित्र्याउन केही ‘डिस्टर्ब’ गरे पनि यसले राम्रो फाइदा पनि हुन सक्ने कृषि विज्ञको सुझाव छ। यस्तो बेलामा छिटो फल्ने मुगीमास र मकै लगाउन सकिन्छ। नेपाल कृषि अनुसन्धान परिषद नार्कका विज्ञ हरिकृष्ण उप्रेतिले गहुँ काटेपछि केही समय खाली हुने जमीनमा ९० दिनमै तयार हुने बसन्ते मकै र छिटो फल्ने मुगीमास लगाउन सकिने बताउछन्।

‘अहिले धेरै जसो ठाउँमा जग्गा खाली हुदैछ। कही भइसकेको छ। मकै लगाउने बेला बाँकी नै छ। तर पानी परिरहेकाले चिस्यान भएको माटोमा मकै र मुगी मास लगाउन सकिन्छ। यसले एकातिर केही समयमै बाली फलाउन सकिन्छ भने धानखेतीका लागि मलको काम पनि गर्छ’ उनले भने। उप्रेतिका अनुसार बसन्ते मकैका अरुण १, अरुण, २, अरुण ३, अरुण ४ र अरुण ६ जातका मकै नार्कले सिफारिस गरेको छ। वैशाखको पहिलो हप्तामा लगाएको यो मकै असारसम्ममा फल्ने उनको भनाइ छ। 

यस्तै धानखेतीका लागि मल हुने मुगीमास पनि यो समय लगाउन सकिन्छ। मुगीमास अर्थात मुङको कोशा टिपेर बोट माटोमा मिसाए युरिया मलको काम गर्ने भएकाले धान खेतीका लागि उपयोगी हुने धानबाली विज्ञ समेत रहेका उप्रेतिले बताए। तराई तथा पहाडका जिल्लामा बसन्ते मकै र मुगीमास राम्रो फल्ने पनि उनको भनाइ छ। फाट्टफुट्ट पानी पर्ने भएकाले गहुँ काट्न र भित्र्याउन ख्याल गर्न पनि विज्ञले सुझाव दिएका छन्। मकै र मुगीबाहेक तराई तथा पहाडी जिल्लामा तरकारी समेत लगाउन सकिन्छ। साभार - उज्यालोअनलाइन
 

कमेन्ट लोड गर्नुस