सुदूर नेपाललाई विश्वसँग जोड्दै

हिमाली क्षेत्रमा मूल्यवृद्धि धेरै

। फोटो स्रोत ।
२०७६ वैशाख ४, ११:१७ खबर संवाददाता

हिमाली क्षेत्रमा मूल्य वृद्धि भएको पाइएको छ। नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको चालू आर्थिक वर्षको आठ महिनाको विवरणमा हिमाली क्षेत्रमा ५.५ प्रतिशत मूल्यवृद्धि भएको पाइएको छ। ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’मा  क्षेत्रगत उपभोक्ता मुद्रास्फीतिअनुसार पहाडी क्षेत्रमा ४.६, काठमाण्डौ उपत्यकामा ४.६ र तराईमा ३.६ प्रतिशत रहेको छ। अघिल्लो वर्षको यही अवधिमा यस्तो मुद्रास्फीति क्रमशः ६.०, ५.६, ४.५ र ६.३ प्रतिशत रहेको थियो।

यही अवधिमा गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ५.८ प्रतिशत रहेको छ। अघिल्लो वर्षको यही अवधिमा उक्त मुद्रास्फीति ६.३ प्रतिशत रहेको केन्द्रीय बैंकले जनाएको छ। नेपाल र भारतको उपभोक्ता मुद्रास्फीति गएको फागुनमा नेपालको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ४.२ र भारतको २.९ प्रतिशत रहेको छ। अघिल्लो वर्षको यही अवधिमा नेपालको मुद्रास्फीति छ र भारतको ४.३ प्रतिशत रहेको थियो। 

थोक मुद्रास्फीति २०७५ साल फागुन महिनामा वार्षिक विन्दुगत थोक मुद्रास्फीति ५.० प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त मुद्रास्फीति २.३ प्रतिशत रहेको थियो। पेट्रोलियम पदार्थ, तयारी पोशाक, यातायात तथा उपकरण र पार्टसलगायत वस्तुका मूल्यमा भएको वृद्धिले थोक मुद्रास्फीति बढ्न गएको बैंकले जनाएको छ।

विप्रेषण आप्रवाह २३ प्रतिशतले बढ्यो 

राष्ट्र बैंकको विवरणअनुसार चालू आवको आठ महिनामा विप्रेषण आप्रवाह २३.४ प्रतिशतले वृद्धि भएको छ। यो अवधिमा पाँच खर्ब ८२ अर्ब १९ करोड रुपैयाँ विप्रेषण आप्रवाह भएको छ। अघिल्लो वर्षको यही अवधिमा विप्रेषण आप्रवाह ४.९ प्रतिशतले बढेको थियो। अमेरिकी डलरमा विप्रेषण आप्रवाह ११.६ प्रतिशतले वृद्धि भएको छ। अघिल्लो वर्ष यस्तो आप्रवाह ९.५ प्रतिशतले बढेको थियो।

समीक्षा अवधिमा खुद ट्रान्सफर आय २२.९ प्रतिशतले वृद्धि भई ६ खर्ब ६२ अर्ब ७० करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको यही अवधिमा यस्तो आय ०.७ प्रतिशतले घटेको थियो। अन्तिम श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको सङ्ख्या समीक्षा अवधिमा ३८.३ प्रतिशतले घटेको छ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या ५.४ प्रतिशतले घटेको थियो। पुनः श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको सङ्ख्या समीक्षा अवधिमा ४.६ प्रतिशतले बढेको छ। अघिल्लो वर्षको यही अवधिमा यस्तो सङ्ख्या १.३ प्रतिशतले घटेको थियो। रासस
 

कमेन्ट लोड गर्नुस