विश्वकप क्रिकेट छनोटमा नेपाल जिम्बाव्वेसँग ८ विकेटले पराजित
विश्वकप क्रिकेट छनोटमा नेपाल जिम्बाव्वेसँग ८ विकेटले पराजित भएको छ।
नेपाली ब्याटरले राम्रो प्रदर्शन गर्दै जिम्बाव्वेलाई २९१ रनको लक्ष्य दिए पनि हरारेको मैदानमा नेपाली बलरहरु घरेलु टोली जिम्बाव्वेलाई रोक्न असफल भए। २९१ रनको लक्ष्य जिम्बाव्वेले २ विकेट गुमाएर ४४.१ ओभरमा भेट्टायो। उसका लागि १६४ रनको साझेदारी गरेका क्रेग इर्भिन र सेन विलियम्स दुवैले नट आउट शतकीय पारी खेले।
कप्तान इर्भिनले १२८ बल खेल्दै १५ चौका र १ छक्का मद्दतमा नटआउट १२१ रन बनाए। यस्तै विलियम्सले ७० बल खेल्दै १३ चौका र २ छक्का मद्दतमा १०२ रन बनाए। वेस्ली मधेभरे ३२ तथा जोयलर्ड गम्बी २५ रनमा आउट भए। नेपालका लागि सोमपाल कामी र गुल्शन झाले १–१ विकेट लिए।
हरारेमा टस जितेर पहिला ब्याटिङ्ग गरेको नेपालले ५० ओभरमा ८ विकेट गुमाउँदै एक दिवसीय क्रिकेटमा आफ्नो तेस्रो ठूलो योगफल २९० रन बनाएको थियो। समूह ए मा नेपालले दोस्रो खेल मंगलबार अमेरिकासँग खेल्नेछ।