सुदूर नेपाललाई विश्वसँग जोड्दै

युगान्डाको स्कुलमा आक्रमण, विद्यार्थीसहित ४० जनाको मृत्यु

२०८० असार २, ०९:३९ खबर संवाददाता

पश्चिमी युगान्डाको एक स्कुलमा ईस्लामिक स्टेट (आईएस) सम्बद्ध विद्रोहीहरूले गालाबारी गर्दा कम्तिमा ४० जनाको मृत्यु भएको छ। मारिने अधिकांश विद्यार्थीहरू रहेको बताइएको छ। एम्पोन्डवीमा रहेको लुबिरिहा माध्यमिक विद्यालयमा भएको सो आक्रमणमा ८ जनाको अवस्था गम्भीर रहेको बताइएको छ।

मारिनेमा आफ्नो डोर्मिटोरीमा बसिरहेका छात्रहरू रहेका छन्। छात्राहरूलाई भने अपहरण गरिएको अधिकारीहरूले बताएका छन्। कङ्गोमा रहेको द एलाइड डेमोक्रेटिक फोर्सेस (एडीएफ) लाई यस घटनामा जिम्मेवार मानिएको छ। घटना शुक्रवार राति करिब ११ः३० बजे घटेको थियो।

५ जना विद्रोहीहरूले यो घटना घटाएको युगान्डाको सेनाको भनाई छ। उनीहरूले विद्यालयमा आगजनी गर्नुका साथै खाद्यान्न समेत लुटेर लगेका छन्। घटनामा बच्न सफल प्रत्यक्षदर्शीका अनुसार आक्रमणकारीले डोर्मिटोरीमा बम प्रहार गरेपछि विद्यार्थीहरूमाथि अन्धाधुन्ध धारिला हतियार प्रहार गरेका थिए । केही विद्यार्थीहरूलाई जिउँदै जलाइएको थियो। 

मारिने विद्यार्थीहरूको उमेर खुल्न सकेको छैन भने जलाइएकाहरूको शव पहिचान गर्नका लागि डीएनए परीक्षण गर्ने तयारी गरिएको छ। सेनाले विद्रोहीविरुद्ध अभियान सुरु गरेको छ । यसका लागि हेलिकप्टरहरू परिचालनसमेत गरिएको छ।

एडीएफ सन् १९९० ताका स्थापना गरिएको थियो। राष्ट्रपति योवेरी मुसेभेनीले मुस्लिम समुदायमाथि अत्याचार गरेको भन्दै उनीहरूले सशस्त्र विद्रोह सुरु गरेका थिए। युगान्डाको कूल जनसङ्ख्याको १४ प्रतिशत मुस्लिम रहेका छन्।

कमेन्ट लोड गर्नुस