सुदूर नेपाललाई विश्वसँग जोड्दै

बेलौरी र भजनी नयाँ शहरको डिजाईन सर्वेका लागि फेरी समय थपिदै

२०७६ वैशाख ३, ११:०२ जनक विष्ट

सरकारले देशका थप सातवटा शहरलाई व्यवस्थित बनाउने घोषणा गरेका कैलाली कञ्चनपुरका दुई नयाँ शहरको योजना अलपत्र परेको छ। कैलालीको भजनी र कञ्चनपुरको बेलौरीलाई नयाँ शहरका रुपमा विकास गर्ने घोषणा गरिएपनि परामर्शदाताले काम गर्न ढिलाई गरिरहेको हो। परामर्शदाता कम्पनीले निर्धारित समयमै डिजाईन र सर्वेको काम नसकेपछि फेरी म्याद थप्ने तयारी भइरहेको छ।

हुलाकी राजमार्ग आसपासमा व्यवस्थित वसोवास गराउनका लागि दुई वटा नयाँ शहर निर्माण गर्न थालिएको डिजाईन सर्वेको काम पटक पटक समय थपिदा पनि सम्पन्न हुन नसकेको हो। ६ महिनाको सुरुवाती समय दिएर थालिएको काम एक बर्ष पुग्न लाग्दा पनि नसकिएपछि फेरी समय थप्ने तयारी भईरहेको हो। गत असारमा सम्झौता गरेर कार्यदेश दिईएकोमा परामर्शदाताले निर्धारित समय भित्र काम नसकेपछि फेरी म्याद थप गर्ने तयारी भइरहेको छ।

शहरी विकास तथा भवन निर्माण विभागका इन्जिनीयर कृष्ण महर्जनले फागुन मसान्त सम्मको समयमा पनि परामर्शदाताले प्रतिवेदन बुझाउन नसकेको बताए। उनले परामर्शदाता कम्पनीले थप समय माग गरेकोले थप्ने तयारी भइरहेको जानकारी दिए। यद्यपी पछिल्लो समय नयाँ शहरको कामले गति लिएको उनको दावी छ। विगतमा स्थानीय तहको सहयोग नमिलेको बताउदै आएको परामर्शदाता कम्पनीले दुवै शहरका वडा स्तरवाट आएका एकिकृत योजनाहरु छनोट भएर त्यसलाई अन्तिम रुप दिएर मुख्य योजनाको डिपिआर र डिजाईन सर्वेको काम सकेर डिजाईन प्रतिवेदनलाई अन्तीम रुप दिन लागेको जनाएको छ।

आउँदो बैशाख भित्रै दुवै शहरमा कार्यान्वयन हुने योजनाको सबै काम सकेर शहरी विकास तथा भवन निर्माण विभागमा बुझाईने दावी  परामर्श दाता  एभरेष्ट ईन्जिनियरिङ कन्सल्टेन्ट, मुनलाईट सिभिल सोलुसन र ईलाईट सिभिल डिजाईन कन्सलेन्टका सञ्चालक कृष्ण यादवले गरेका छन्। हुलाकी राजमार्ग अन्तरगत छनौट भएका १० शहर मध्ये कञ्चनपुरको बेलौरी र कैलालीको भजनीलाई पनि नयाँ शहरको रुपमा विकास गर्ने भनिएको थियो।

तर प्रारम्भीक चरणमै भएको ढिलाईका कारण नयाँ शहरको परिकल्पनाले छिट्टै मुर्त रुप नलिनेमा आशंका व्यक्त हुदै गएको छ। विगतमा स्थानीय तहहरुको असहयोगका कारण ढिलाई भएको बताउदै आएको थियो भने  अहिले पनि स्थानीय तहले खासै चासो नदिएको देखिएको छ। दशैँको बेला वडा स्तरबाट योजना छनौटका विषयमा छलफल भएपनि परामर्शदाता कम्पनी त्यसयता नफर्किएको कञ्चनपुरको बेलौरी नगरपालिकाका प्रवक्ता विनोद नेपालीले बताए।   । 
 

जनक विष्ट दिनेश एफ. एम. का सम्पादक हुन। उनले राजनीति र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस