चुरेका डाँडाले घेरिएको आलिताल
डडेल्धुराको भित्री मधेस आलिताल गाउँपालिका– ३ मा रहेको आलितालसंग पर्यटक लोभ्याउने सुन्दरता छ। समुद्री सतहबाट करिब ८ सय मिटर उचाइमा महाभारत पर्वत शृंखलाको फेदमा रहेको तालको सुन्दरताले धेरै पर्यटकलाई लोभ्याउन सक्छ। ताललाई पर्यटकिय गन्तव्य बनाउन सकिने पर्याप्त आधारहरु भएपनि त्यस्का लागि कुनै निकायले पहल नगर्दा अहिले ताल ओझेलमा रहेको छ। एक हजार १७ सय ५ मिटर लम्बाइ तथा करिब ४ सय मिटर चौडाइ रहेको ताल महाभारतको चुरेबाट विभिन्न फोहोर पदार्थ जम्मा हुँदै गएपछि अहिले साँघुरिँदै गएको छ।
च्ुरेका डाँडाले घेरिएको उक्त तालको वरिपरि सुन्दर हरियाली वन छ। डडेल्धुरा जिल्ला सदरमुकामबाट यो तालसम्म पुग्न गाडीमा करिब तीनदेखि चार घण्टा लाग्छ। करिब चार पाँच दशक पहिले यो ताल भएको ठाउँमा डेढ दर्जन परिवारको बस्ती थियो। एक दिन त्यस गाउँमा बसोवास गर्ने एक जना विवाहित महिलाले सपना देखिन्।
महिलालाई सपनामा आएको राँगोले यस ठाउँमा भोलि पानी पर्ने र हावाहुरी पनि आउने अनि यस क्षेत्रमा ठूलो तलाउ हुने भएकाले यस क्षेत्रबाट अरू ठाउँमा बसाइँ सर्न भनेको थियो। त्यसको ठीक दोस्रो दिन जुन महिलाले सपना देखेकी हुन, उनकै घरमा रोपाइँ रहेछ। बिहान उज्यालो भएसँगै ती महिलाले राती आफूले देखेको सपना आफ्नो घरपरिवारलाई सुनाइन्। घरका सबै सदस्यहरूले उनले देखेको सपना सुनेछन् तर यो सपना सही नभएकोे भन्दै महिलालाई गाली गर्न थालेछन्। ती महिला खाना पकाउनका लागि घरमै बसिछन् र उनी खान पकाउन लागिछन्। घरका परिवार र छिमेकी गाउँलेहरू रोपाइँ गर्न खेततिर व्यस्त थिए।
मध्याह्नको समयमा उक्त घरमा भएकी महिला खेतमा रोपाइँ गरिरहेकाहरुलाई दिउँसो खाना लगेर खेतमा जाने बेला ठूलो हावा र आकाशबाट पानी पर्न सुरु भएछ। महिलाले खाना पुगाउन खेत नजिकै पुग्ने बेला सपनामा देखेको राँगो जस्तै ठूलो राँगो विपनामै देखिछन्। त्यसपछि ती महिला त्यही ठाउँमा ढलिछन् र क्रमश त्यो क्षेत्रमा पूरै पानी नै पानी भएछ। रोपाइँ गर्न खेतमा गएका सबै मान्छे, गोरु, घर सबै पानीमा डुबेर तालमा परिणत भएको बुढापाकाले भन्ने गरेका छन्। तालको धार्मिक महत्व पनि भएकाले पर्यटकीय गन्तव्यका रुपमा विकास गरिनुपर्ने माग स्थानीयको छ।
पर्यटन वर्ष २०११ मा आलिताल पर्यटन विकास समाज गठन गरिएको भए पनि हाल आएर भने बोर्ड बोर्डमै सीमित रहेको र ताल विकासका लागि कुनै ठोस योजना नबनाएको स्थानीयवासीको आरोप छ। अहिले ताल क्षेत्र सम्म मोटरबाटो पनि पुगेको छ। तालमा डुङगाद्वारा घुम्ने व्यवस्था पनि मिलाईएको छ तर अपेक्षा अनुसार पर्यटकहरु भने भित्रिन सकेका छैनन्।
सबै फोटो: खगेन्द्र साउद