आगामी आर्थिक वर्षको बजेटमा औषधि प्रयोजनका लागि गाँजा खेतीको सम्भाव्यता अध्ययन गरिने
काठमाडौंः अर्थमन्त्री डा.प्रकाशशरण महतले ठूला देशहरुले गाजाँमा प्रतिबन्ध लगाउन आग्रह गरेपछि नेपालमा त्यसअनुसार कानुन बनेर प्रतिबन्धित भएको बताएका छन्।
गाँजालाई प्रतिबन्ध लगाउनु अन्यथा साहायता नै दिन्नौं भनेपछि त्यस अनुसार नेपालले कानुन बनाएर रोक लगाएको उल्लेख गर्दै उनले नेपाललाई रोक्न दवाब दिने मुलुकहरुले अहिले खुला गरेर विजशेन गरिरहेको बताए। ‘जुन देशले हिजो हामीलाई गाँजा कानुन ल्याएर रोक,नत्र हामी साहायतै दिन्नौं भन्यो।
अलि अलि साहायता पनि रोकिदिएला भनेर हामीले कानुन नै बनाएर रोक्यौं’। शुक्रबार राष्ट्रिय सभामा बजेटमाथि उठेका प्रश्नहरुको जवाफ दिँदै अर्थमन्त्री महतले भने। नेपाललाई रोक्न दवाव दिनेहरुले नै गाँजा खेती खुला गरेर विजनेश गर्न थालेका कारण नेपालमा पनि गाँजा खेतीको सम्भावनाको विषयमा अध्ययन गर्ने भनेर बजेटमा राखिएको उनले बताए।
सरकारले आगामी आर्थिक वर्षको बजेटमा औषधि प्रयोजनका लागि गाँजा खेतीको सम्भाव्यता अध्ययन गर्ने प्रस्ताव गरेको छ। गाँजा खेतीलाई वैधानिकता दिनुपर्ने आवाज उठिरहेका बेला सरकारले बजेटमार्फत सम्भाव्यता अध्ययन गर्ने घोषणा गरेको हो।