डडेल्धुरा अस्पतालका अध्यक्ष सिंहले राजीनामा दिँदै
डडेल्धुराः डडेल्धुरा अस्पताल विकास समितिका अध्यक्ष लक्ष्मण सिंहले पदबाट राजीनामा दिने भएका छन्।
अस्पताल प्रशासनमा काम गर्ने वातावरण नभएको, मेसु चेतराज भट्टको कार्यशैलीले तनाव दिएको तथा अस्पतालका पूर्व अध्यक्ष करुणाकर ओझाले आफ्नो चरित्र हत्या गर्ने विभिन्न षड्यन्त्र रच्नुबाट आजित भएर राजीनामा गर्न लागेको सिंहले बताएका छन्। वैशाख १७ गतेको प्रधानमन्त्रीस्तरीय निर्णयले सिंहलाई अस्पताल विकास समितिको अध्यक्षमा नियुक्त गरिएको थियो।
तर उनले पदभार ग्रहण गरेकै दिन मन्त्रीस्तरीय निर्णयबाट उनको नियुक्ति खारेज भएको थियो भने अस्पताल विकास समितिको अध्यक्षमा करुणाकर ओझा नियुक्त भएका थिए। तर, सर्वोच्च अदालतले ९ जेठमा सिंहको नियुक्ति खारेज नगर्न र तत्कालका लागि सिंहलाई नै अध्यक्षका रुपमा काम गर्न दिन अन्तरिम आदेश दिएको थियो। पदभार ग्रहण गरिसकेका अध्यक्ष सिंह अदालतको अन्तरिम आदेशपछि सोमवार अस्पतालमा पुगेका थिए। उनले जहाँबाट भए पनि दरबन्दीअनुसार चिकित्सक ल्याउने दाबी गरेका थिए।