कैलाली क्याम्पसमा शैक्षिक अनुसन्धान र प्रस्तावना लेखन सम्बन्धी तीन दिने कार्यशाला सम्पन्न
धनगढीः कैलाली बहुमुखी क्याम्पसमा शैक्षिक अनुसन्धान र प्रस्तावना लेखन सम्बन्धी तीन दिने कार्यशाला सम्पन्न भएको छ।
स्नातक तह विज्ञान संकायको आयोजना र विश्वविद्यालय अनुदान आयोगको सहयोगमा तेस्रो र चौथो वर्षमा अध्ययनरत विद्यार्थीहरुलाई शैक्षिक अनुसन्धान र प्रस्तावना लेखन सम्बन्धी तालिम प्रदान गरिएको हो। विद्यार्थीमा अनुसन्धान क्षमता अभिवृद्धि गर्ने उद्धेश्यले कार्यशाला आयोजना गरिएको क्याम्पसका विज्ञान संकायका सह–प्राध्यापक प्रेम साउँदले बताए।
त्रिभुवन विश्वविद्यालय र सुदूरपश्चिम विश्वविद्यालयका विषय विज्ञहरुले उक्त कार्यक्रममा विभिन्न विषयमा तीन दिन छलफल तथा प्रस्तुतीकरण गरेका थिए। जसमा शैक्षिक अनुसन्धान र वैज्ञानिक लेखन गर्ने मुख्य विधि, परियोजना प्रतिवेदन लेखन, (लेटेक्स) लेखन उपकरण सञ्चालनबारे आधारभूत जानकारी प्रदान गरिएको थियो।
वैज्ञानिक विधि र अनुसन्धानमा निरन्तरता, अन्तर्राष्ट्रिय जोर्नलमा लेख प्रकाशन गर्ने प्रक्रिया, नेपालमा प्लाज्मा अनुसन्धानको अवस्था, चुनौती, अवसर र सम्भावना लगायतका विभिन्न विषयमा त्रिभुवन विश्वविद्यालय भौतिकशास्त्र केन्द्रीय विभागका प्राध्यापक डाक्टर राजु खनाल, पुलचोक क्याम्पस काठमाडौंका प्राध्यापक डाक्टर हेमराज पन्त, सिद्धनाथ विज्ञान क्याम्पस महेन्द्रनरका प्राध्यापक डाक्टरभवानीदत्त जोशी, डाक्टर मानदेव भट्ट, अमृत साइन्स क्याम्पस काठमाण्डौँका प्राध्यापक देवेन्द्रराज उपाध्याय, कैलाली बहुमुखी क्याम्पसका प्राध्यापक डाकटर धिरेन्द्र ठाकुर, प्राध्यापक रमा जोशी, नास्ट कलेज धनगढीका प्राध्यापक डाक्टर प्रेमबहादुर चन्दले प्रस्तुती राखेका थिए।
यस्तै,कार्यक्रममा बोल्दै कैलाली बहुमुखी क्याम्पसका सह–प्राध्यापक मोहनसिंह साउँदले यस्ता कार्यशाला र क्षमता अभिवृद्धिका कार्यक्रम अन्य संकायमा पनि लागु हुनुपर्ने बताए। कार्यक्रममा सहभागी विद्यार्थीहरुले विभिन्न प्राविधिक कुराहरु सिक्न पाएकाले प्रयोगात्मक कार्य गर्न सहज हुने प्रतिक्रिया दिएका छन्। समापन कार्यक्रममा प्रमुख अतिथि रहनुभएका सुदूरपश्चिम विश्वविद्यालय व्यवस्थापन संकायका डीन प्राध्यापक डाक्टर पदमराज जोशीले विद्यार्थीहरुले अनुसन्धान कार्यमा लगनशील भएर लाग्नुपर्ने बताए। उनले विज्ञहरु सम्मिलित उक्त कार्यक्रम विद्यार्थीहरुका लागि नयाँ कुरा सिक्ने राम्रो अवसर भएको बताए।
यस्तै, कार्यक्रममा बोल्दै कैलाली बहुमुखी क्याम्पसका प्रमुख डाक्टर धर्मराज उपाध्यायले विद्यार्थीहरुलाई अनुसन्धान कार्यलाई निरन्तरता दिन आग्रह गरेका छन्।