सुदूर नेपाललाई विश्वसँग जोड्दै

स्विजरल्याण्डभन्दा खप्तड सुन्दर छः आचार्य

२०८० जेठ २१, ०६:२१ खबर संवाददाता

धनगढीः पतञ्जलि योगपीठका महामन्त्री आचार्य बालकृष्ण धनगढी पुगेका छन्। सुदूरपश्चिमको प्रमुख पर्यटकीयस्थल भूस्वर्ग खप्तडमा आध्यात्मिक सम्मेलनका लागि उनी धनगढी पुगेका हुन्। जेठ २३ देखि २५ गतेसम्म खप्तडमा सम्मेलन हुँदैछ। 

सुदूरपश्चिमको विकास र कल्याणका लागि सदैव सोच्ने मान्छे भएको उनले बताएका छन्। धनगढीमा शनिवार पत्रकारसँग कुराकानी गर्दै उनले स्वीजरल्याण्डभन्दा पनि खप्तड सुन्दर भएको बताए। खप्तडको प्रचार र विकास गरिनुपर्ने उनको सुझाव छ। , ‘खप्तड धेरै सम्भावना भएको ठाउँ हो। खप्तड स्विजरल्याण्डभन्दा सुन्दर छ। यहाँको प्रदेश सरकारले,  नेपाल सरकारले खप्तडको विकासमा लाग्नुपर्छ, हामी  पनि यसमा सहयोग गर्छौ, ’ उनले भने।

पतञ्जलिले खप्तडलाई देश विदेशमा चिनाउन पहल गर्ने उनले बताएका छन्। खप्तडमा जडीबुटीको अन्वेषण पनि गर्ने उनले बताए। त्यसका लागि आफ्नो विज्ञ टोली खप्तड पुगिसकेको उनले जानकारी दिए। 

निकट भविष्यमै कैलाश मानसरोवर र खप्तडलाई आपसमा जोड्नुपर्ने उनले बताए। नेपाल सरकारलाई आफू सहयोग गर्न तयार रहेको उनले बताएका छन्।  

खप्तडमा हुने सो सम्मेलनको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गर्ने कार्यक्रम छ। भारतीय योगगुरु बाबा रामदेव, सङ्घीय र प्रदेश सरकारका मन्त्रीहरू, आध्यात्मिक क्षेत्रका प्रतिष्ठित व्यक्तित्वलगायत सम्मेलनमा सहभागी हुने छन्। 

सुदूरपश्चिम प्रदेश सरकार,  उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, नेपाल पर्यटन बोर्ड, खप्तड पर्यटन विकास तथा व्यवस्थापन समिति र स्थानीय तहले सम्मेलनको आयोजना गर्न लागेका हुन्। खप्तडबाबाले ५० वर्ष साधना गरेको खप्तडलाई पर्यटकीय हिसाबले ‘भर्जिन’ क्षेत्र मानिन्छ।  


 

कमेन्ट लोड गर्नुस