सुदूर नेपाललाई विश्वसँग जोड्दै

सभापतिका गल्ती सहेर बस्न सक्दैनः  गगन थापा

२०८० जेठ १९, ०८:३८ खबर संवाददाता

काठमाडौँः  नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टी सभापति शेरबहादुर देउवासहित नेतृत्वमा रहेका केही व्यक्तिले मुलुक र पार्टी हितविपरीत गरेको गल्ती आफूहरुले सहेर बस्न नसक्ने चेतावनी दिएका छन्।

पार्टीका सभापतिले महत्त्वपूर्ण निर्णय गर्दा पनि महामन्त्रीहरुसँग छलफल नगरेको र केन्द्रीय समितिको बैठक पनि महिनौंसम्म नबोलाएकोमा असन्तुष्टि जनाउँदै उनले नेतृत्वले गरेको गल्तीको भारी अब आफूहरूले बोक्न नसक्ने बताए। कांग्रेस सहभागी भएको सरकारले केही दिनअघि गम्भीर, महत्त्वपूर्ण दीर्घकालीन महत्व र जनचासोका विषयमा निर्णय गर्दा पनि पार्टीमा छलफल नभएको भन्दै महामन्त्री थापाले आक्रोश पोखेका थिए।

रेशम चौधरीलाई दिएको आममाफी, नागरिकता प्रमाणीकरण, प्रदेश सरकारमा कांग्रेसको सहभागिता, प्रदेश मन्त्रालय फुटाउने, सांसद विकास कोषलगायतका कयौं विषयहरुमा उनले असन्तुष्टि जनाएका हुन् । ती सबै निर्णय पार्टी सभापति शेरबहादुर देउवाले एक्लै गरेको भन्दै महामन्त्री थापाले यस्ता सूचना आफूले सञ्चारकर्मीका समाचार सुनेर थाहा पाएको बताए।

प्रेस युनियनको उपत्यका तथा प्रतिष्ठानको पहिलो अधिवेशनको शुक्रबार उद्घाटन गर्दै महामन्त्री थापाले यस्तो बताएका हुन।

कमेन्ट लोड गर्नुस