एकै दिन पाकिस्तानको जेलमा रहेका दुईसय भारतीय माझी रिहा

एजेन्सीः पाकिस्तानले आज दुई सय भारतीय मछुवारालाई रिहा गरेको छ।
आजै तीन जना अन्य बन्दी पनि पाकिस्तानको जेलबाट मुक्त भएका छन्। गत महिनामा पनि पाकिस्तानले एक सय ९८ भारतीय मछुवारालाई रिहा गरेको थियो। पाकिस्तानका विदेशमन्त्री बिलावल भुट्टो जर्दारीले मानवताका नाताले भारतीय माझीलाई कारबासमुक्त गरिएको बताउँदै मानवीय विषयलाई पाकिस्तानले राजनीतिक आवरण नदिने नीति अङ्गीकार गरेको जनाएका छन्।
पाकिस्तान इन्डिया पिपुल्स फोरम फर पिस एन्ड डेमोक्रेसीका पूर्वमहासचिव जतिन देसाईका अनुसार कराँचीको मालिर जेलबाट कैदीहरूलाई रिहा गरिएको हो। गत मे १५ मा लान्डी जेलबाट रिहा भएका एक सय ९८ भारतीय मछुवारा वाघा सीमा पार गरेर गुजरात पुगेका थिए।

पाकिस्तानी सुरक्षा निकायहरूले समुद्रमा पक्राउ गरेका छ सय ५४ जना माझीमध्ये छ सय ३१ जनाले यस वर्षको अप्रिलसम्म जेल सजाय पूरा गरिसकेका र उनीहरूको राष्ट्रियता पनि प्रमाणित भइसकेको छ। यसअघि पाकिस्तानले आफ्नो जेलमा रहेका छ सय ५४ मध्ये चार सय ९९ लाई रिहा गर्ने निर्णय गरेको थियो।
अरब सागरमा अन्तर्राष्ट्रिय समुद्री सीमा रेखा (आईएमबीएल) लाई लिएर भारत र पाकिस्तानबीच मतभेद छ।