सुदूर नेपाललाई विश्वसँग जोड्दै

खप्तड–शैलेश्वरी हाई अल्टिच्युड म्याराथनको उपाधि आर्मीका खडकलाई 

२०८० जेठ १८, ११:२५

डोटीः खप्तड–शैलेश्वरी हाइअल्टिच्युड म्याराथनको उपाधि त्रिभुवन आर्मी क्लबका खडकबहादुर खड्काले जितेका छन । सुदूरपश्चिम खेलकुद परिषद्सँगै डोटी उद्योग वाणिज्य संघको आयोजना र तथा नेपाली सेनाको भैरवप्रसाद गणको व्यवस्थापनमा भएको खप्तड–शैलेश्वरी म्याराथनको दोस्रो संस्करणको उपाधि आर्मीका खड्काले जितेका हुन् । 

खप्तडको ३ हजार ३ सय फिट उचाईबाट सुरु म्याराथनको निर्धारित साढे ४२ किलोमिटरको दुरीच्याम्पीयन भएका खड्काले २ घण्टा ३७ मिनेट ४६ सेकेन्डमा पार गरे । पदमार्गमा भएको म्याराथनमा पहिलोपल्ट सहभागी जाजरकोटका खड्काले एक लाख २५ हजार रुपैयाँ पुरस्कार पाए ।विभिन्न म्याराथनमा सहभागी भए पनि उकालीओरालीमा भएको पदमार्गमा पहिलो सहभागितामै च्याम्पियन हुँदा थप आत्मबल बढेको खड्काले बताए । 

त्रिभुवन आर्मी क्लबकै नरेन्द्रसिहं रावत दोस्रो भए । २ घण्टा ३९ मिनेट ३४ सेकेन्डबाट निर्धारित दुरी गरेका नरेन्द्रले ८० हजार पुरस्कार जिते । बैतडीका उनी विभिन्न म्याराथनका स्वर्णविजेता खेलाडी हुन् । उनले उकालोमा प्रतिस्पर्धीलाई पछाडी पारेको भए पनि ओरालोमा भने खडकभन्दा पछि परेका थिए ।
तेस्रो भने जुम्लाका कर्णाली स्पोर्ट्स क्लबका वीरेन्द्र पाण्डेय भए । उनले २ घण्टा ४२ मिनेट ४४ सेकेन्डमा दुरी पार गरे । उनले ५० हजार पुरस्कार पाए । वीरेन्द्रले विभागीय खेलाडीसँग प्रतिस्पर्धा गरेर तेस्रो स्थान प्राप्त गर्नु नै आफ्ना लागि ठूलो उपलब्धी भएको बताए ।  म्याराथनमा सहभागी हुन थालेको ५ महिनामै कठिन बाटोमा दौडेर उनले तेस्रो स्थान सुनिश्चित गरेका थिए ।

खप्तड–शैलेश्वरी म्याराथनमा विदेशी सहित ४८ धावकले प्रतिस्पर्धी गरेको सुदुरपश्चिम प्रदेश खेलकुद परिषदका सदस्य झलक शाहले बताए । खप्तडको प्रचार प्रसार गर्ने उद्देश्यले गत बर्षदेखि थालनी गरिएको म्याराथनको दोस्रो संस्करणमा खेलकुद परिषदले पनि सहकार्य गरेको सुदुरपश्चिा खेलकुद परिषदका सदस्य चित्रराज भट्टले जानकारी दिनए । उनले आगामी बर्षमा पनि परिषदले सहकार्य गर्ने बताए । गतवर्ष पनि खप्तडमा लाग्ने गंगा दशहरा मेलाको अवसर पारेर म्याराथन गरिएको थियो ।

हाफ म्याराथनमा पूर्णलक्ष्मी विजेता
महिला हाफ म्याराथनमा भने आर्मीकी पूर्णलक्ष्मी न्यौपाने विजयी भएकी छन । उनले १ घण्टा १४ मिनेट १८ सेकेन्डमा निर्धारित २१.५ किलोमिटर दुरी पार गर्दै ५० हजार रुपैयाँ उपाधि जितिन । पुलिस क्लबकी रेखा विष्ट १ घण्टा २२ मिनेट १० सेकेण्डबाट दोस्रो भइन । डोटीकी रेखाले ३० हजार प्राप्त गरिन । तेस्रो स्थानमा भैरवप्रसाद गणकी सुन्तला कडायत विजयी भइन । अछामकी उनले एक घण्टा २६ मिनेट ८ सेकेन्डमा दुरी पुरा गरिन । उनले २० हजार रुपैयाँ प्राप्त गरिन् ।

विजयी खेलाडीहरुलाई एक कार्यक्रमबीच पुरस्कार वितरण गरिएको छ । ५ नम्बर वाहिनीका बाहिनीपति विजय थापा, सुदुरपश्चिम प्रदेश खेलकुद परिषदका सदस्य सचिव दिपक सिंह लगायतले विजयीलाई पुरस्कार वितरण गरे । 

कमेन्ट लोड गर्नुस