सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीका पाँच विद्यालय र सामुदायिक वनको अख्तियारले फास्ट ट्रयाकबाट अनुसन्धान गर्ने

२०८० जेठ १५, १२:४५ नारायण अवस्थी

धनगढी: धनगढी उपमहानगरले आर्थिक अनियमितता हुने आरोप लाग्दै आएका धनगढीका पाँच सामुदायिक विद्यालय र पाँच सामुदायिक वनको छानबिन गराउने भएको छ। शनिवार धनगढीमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आयोजना गरेको भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवर्द्धन सम्बन्धि पालिकास्तरीय कार्यक्रममा नगरप्रमुख गोपाल हमालले अनियमितताको छानबिन गर्न उपमहानगरले निवेदन दिने बताएका हुन्।

नगरप्रमुख हमालले जनस्तरबाट आर्थिक अनियमितता हुने गुनासो आएका विद्यालय र सामुदायिक वनको छानबिन गर्न निवेदन दिने कुरा बताएपछि अख्तियारले द्रुत मार्गबाट अनुसन्धान गर्ने बताएको हो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त किशोरकुमार सिलवालले उपमहानगरबाट आउने निवेदन उपर फास्ट ट्रयाकबाट अनुसन्धान गर्ने बताएका हुन्।

विद्यालय र सामुदायिक वनमा हुने अनियमितताहरू

अख्तियारले सामुदायिक विद्यालय र सामुदायिक वनमा हुने अनियमितताका उजुरी बढी दर्ता हुने गरेको बताएको छ। सामुदायिक विद्यालयमा राहत तथा स्थानीय तहमा शिक्षक भर्नामा अनियमितता हुने गरेको छ। यस्तै, भवन, जग्गा र पोखरी भाडामा दिँदा अनियमितता भएको भन्दै उजुरी अख्तियारमा पर्ने गरेका छन्।

सामुदायिक विद्यालय र सामुदायिक वन उपभोक्ता समितिले श्रेस्ता नराख्ने र निर्माण तथा खरिदको सार्वजनिकरण नगर्ने समस्या रहेको अख्तियारले बताएको छ।

विद्यालयहरूले बढी विद्यार्थी देखाएर पाठ्यपुस्तक, दिवा खाजा र छात्रवृत्तिमा अनियमितता गर्ने गरेका छन्। शिक्षक भर्नामा अनियमितता गर्दै आएका प्रधानाध्यापक र व्यवस्थापन समितिले विद्यालयको नाममा रहेको जग्गासमेत बिक्री गरेको भन्ने उजुरी अख्तियारमा पर्ने गरेका छन्।

सामुदायिक वन उपभोक्ता समितिहरूले लेखा प्रणाली नराख्ने, सार्वजनिक पैसा व्यक्तिगत झै खर्च गर्ने, अनावश्यक भवन निर्माण गर्ने, सामान खरिद गर्ने, वन पैदावर संकलन र वितरणमा कानून र कार्यविधिको उल्लंघन गरेको भन्दै उजुरी पर्ने गरेका छन्।

सामुदायिक विद्यालयले शिक्षक व्यवस्थापनका लागि निकासा भएको रकम अन्यत्र खर्च गर्ने, विद्यार्थी संख्या न्यून भएका विद्यालयमा निरन्तर रुपमा भवन निर्माण गर्नका लागि बजेट निकासा गराउने, शौचालय निर्माणको रकम भवन निर्माणमा खर्च गर्ने र विद्यार्थीबाट विभिन्न शिर्षकमा रकम असुल्ने काम भएको भन्दै अख्तियारमा उजुरी दर्ता हुने गरेको अख्तियारले जनाएको छ।

नारायण अवस्थी दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस