सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा मसिनो धान प्रर्वद्धन गर्न किसानलाई बिउमा ५० प्रतिशत अनुदान

२०७५ चैत्र २९, ०८:०७

सुदूरपश्चिममा मसिनो चामलको माग अत्यधिक बढेपछि भारतबाट हुने आयातको दर समेत बढेको छ। तर यहाँका किसानले मसिना धान खेती नगर्ने परिपाटीका कारण वर्षेनी मसिनो धान आयातको दर बृद्धि हुदै गएको छ। प्रदेशको भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले भने सुदूरपश्चिमका किसानहरुलाई मसिनो धान खेतीतर्फ आर्कषित गर्ने उद्देश्यले बिउमा ५० प्रतिशत अनुदानको व्यवस्था गरेको छ।

 कैलाली र कञ्चनपुरसंगै पहाडी जिल्लाका किसानलाई समेत बिउमा ५० प्रतिशत अनुदान दिएर मसिनो धान उत्पादन गर्ने लक्ष्य लिईएको छ। मन्त्रालयका कृषि महाशाखा प्रमुख यज्ञराज जोशीले प्रदेशलाई चामलमा आत्मनिर्भर बनाउन मन्त्रालयले मसिनो धानलाई प्रवद्र्धन गर्न विशेष कार्यक्रम सञ्चालन गर्न अनुदानको कार्यक्रम ल्याईएको जानकारी दिए। मोटो चामल भन्दा मसिनो चामलको उत्पादन राम्रो हुने र माग  बढि भएकाले मन्त्रालयले उत्पादनमा जोड दिएको जोशीले बताए। मन्त्रालयले डोटीमा जोरायली मसिनो धान, बझाङ, अछाम र बैतडीमा खुम्लटार जातको धानको बिउमा ५० प्रतिशत अनुदान दिने भएको छ।

डोटीमा ६० हेक्टर जग्गामा यसवर्ष मसिनो जोरायली धान र अन्य जिल्लामा २०/२० हेक्टर खुम्लटार धान खेती विस्तार गर्ने लक्ष्य राखिएको छ। यस्तै कैलाली र कञ्चनपुरमा पनि २ सय विगाह क्षेत्रफलमा मसिनो धान खेती विस्तार हुने बताईएको छ। यस्तै मन्त्रालयले मसिनो मंसुली, सुगन्धीत धान, सुख्खा ३ र ६ धान उत्पादनमा पनि जोड दिने जनाएको  छ। कृषि महाशखा प्रमुख यज्ञराज जोशीले मसिनो धान खेती विस्तारका विषयमा कैलाली र कञ्चनपुरका प्रतिष्ठित मिलहरुसंग पनि छलफल गरिएको आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए।

 छलफलमा मसिनो चामलमा यहाँको मूल्य र भारतको मूल्यमा एकरुपता कायम गर्ने विषयमा सहमती जुटेको उनले बताए। व्यापारीहरु र कृषि मन्त्रालयबिच सरकारले तोकेको समर्थन मूल्यमा मसिनो धान खरिद गर्ने, भारतको मूल्य र नेपालको मूल्यमा एकरुप्ता ल्याउने सम्झौता समेत भएको छ। अहिले भारतबाट सुदूरपश्चिममा मात्र वार्षिक झण्डै २ अर्ब बढिको मसिनो चामल आयात हुदै आएको कृषि मन्त्रालयले जनाएको छ। 
 

कमेन्ट लोड गर्नुस