सुदूर नेपाललाई विश्वसँग जोड्दै

पीटीआईका प्रमुख नेता कुरेशी र चीमा नजरबन्दमा

२०८० जेठ १०, ०५:२६ खबर संवाददाता

एजेन्सीः  पाकिस्तान तेहरीक–ए–इन्साफ (पीटीआई) का प्रमुख नेता शाह महमुद कुरेशी, जमशेद चीमा र उनकी पत्नी मुसरत चीमालाई बुधबार नजरबन्दमा राखिएको छ।

पाकिस्तानी समाचार च्यानल एआरवाई न्यूजका अनुसार रावलपिण्डीका आयुक्तले पूर्व प्रधानमन्त्री इमरान खानको पार्टीका नेताहरूलाई नजरबन्दमा राख्न आदेश जारी गरेका हुन्। उनीहरूलाई मेन्टेनेन्स अफ पब्लिक अर्डर (एमपीओ) को दफा ३ अन्तर्गत नजरबन्दमा राखिएको छ।

उनीहरूलाई १५ दिनका लागि नजरबन्दमा राखिएको छ। पाकिस्तान तेहरीक–ए–इन्साफ (पीटीआई) का उपाध्यक्ष समेत रहेका कुरेशीलाई रावलपिण्डीको अडियाला जेलबाट रिहा भएको केही मिनेटमै पुनः पक्राउ गरिएको पाकिस्तानस्थित जियो न्यूजले जनाएको छ। पार्टी नेता मुसरत जमशेद चीमालाइ रिहाईपछि पुनः तुरून्त गिरफ्तार गरिएको थियो।

पक्राउ परेपछि कुरेशीले जेलबाहिर बोल्दै आफू अझै पनि पीटीआईको हिस्सा रहेको र रहिरहने बताएका थिए। त्यसपछि पूर्वमन्त्रीलाई प्रहरीले अज्ञात स्थानमा लगेको जिओ न्यूजले जनाएको छ। पार्टीका वरिष्ठ उपाध्यक्ष शिरीन मजारीले पीटीआई छोड्ने र राजनीति छोड्ने घोषणा गरेको केही घण्टापछि उनले पार्टीमा रहने बताएका हुन्।

उनले आन्दोलन सिर्जना नगर्ने र मजदुरलाई भड्काउने काम नगर्ने प्रतिबद्धता जनाएपछि इस्लामाबाद उच्च अदालतले मङ्गलबार कुरेशीलाई रिहा गर्न आदेश दिएको थियो।
 

कमेन्ट लोड गर्नुस