बैतडीको सिगासका अध्यक्ष धामीविरुद्ध कुटपिट र गालीबेइज्जतको मुद्दा
धनगढीः बैतडीको सिगास गाउँपालिकाका अध्यक्ष हरिसिंह धामीविरुद्ध कुटपिट र गालीबेइज्जत शिर्षकमा जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ।
कान्धार देउलेक सडक निर्माण समितिका अध्यक्ष वीरसिंह धामीले उनी विरुद्ध मुद्दा दर्ता गरेका हुन्। गत मंगलवार सडक निर्माणको क्रममा दोस्रो किस्ता बाफतको रनिङ बिलमा पालिकाले २० लाख ४४ हजार रकमको चेक उपभोक्ता समितिलाई दिएको थियो। तर चेक साटन जाँदा गाँजरीमा रहेको कृषि विकास बैंक पुग्दा अध्यक्षले उक्त चेक नसाट्न पत्राचार गरेको भन्दै बैंकले भुक्तानी दिन मानेको थिएन।
चेक नसाटिनुको कारण बुझ्न पुनः पालिका केन्द्र गर्जे जादा अध्यक्षले गालीगलौच र कुटपिट गरेपछि उपभोक्ता समिति अध्यक्ष धामी जिल्ला अस्पताल बैतडीमा भर्ना भएका थिए।
हाल उपचारकै क्रममा रहेका उनले पालिका अध्यक्ष धामी विरुद्ध सोमवार अदालतमा मुद्धा दर्ता गराएका हुन्। पालिका अध्यक्षले सात लाख रकम माग्दा विवाद भएको र सोही क्रममा गालीगलौच गर्दै कुटपिट गरेको पीडित धामीले आरोप लगाएका छन्।
अध्यक्ष धामीले सार्वजनिक पदको दुरुपयोग गर्दै कुटपिटपछि उल्टै रातभरी प्रहरी चौकीमा थुन्न लगाएको पीडितले बताएका छन्। गाली गलौच गर्दै लात्ता, मुक्का र लाठीले कुटपिट गरेकाले उनीमाथि कैद र जरीवानाका साथै उपचार खर्च माग गरिएको छ।