सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङमा अमेरिकी सेना! फैलिएको भ्रम, भिडियो विरुद्ध खनिए सांसद जोशी

२०८० जेठ ९, ०३:०७

धनगढीः  बझाङको साइपाल गाउँपालिकामा पर्ने माझा क्षेत्रमा अमेरिकी सेना क्याम्प बनाएर बसेको भन्ने हल्ला निराधार रहेको गाउँपालिकाले जनाएको छ। एक युट्युब अन्तर्वार्तामा बझाङको माझा भन्ने ठाउँमा अमेरिकी सेनाले क्याम्प खडा गरी बसेको भन्ने अन्तर्वार्ताको भिडियो हालेपछि सामाजिक सञ्जालमा हल्ला फैलिएको थियो। यसलाई खण्डन गर्न साइपाल गाउँपालिकाले विज्ञप्ति निकालेको छ।

देशको राष्ट्रियतामाथि नै प्रश्न उठ्ने गरी सामाजिक सञ्जालमा फैलिएको भ्रामक हल्लाले पालिकाको गम्भीर ध्यानाकर्षण भएको जनाउँदै गाउँपालिकाले माझा क्षेत्रमा अहिले जडिबुटी संकलनको कार्य भइरहेको र त्यहाँ स्थानीयको आवतजावत र पालिकाको समेत नियमित अनुगमन भइरहेकाले हल्ला फैलिएजस्तो कुनै गतिविधि नभएको जनाएको छ।

‘यस्ता कपोकल्पित कुरामा विश्वास नगर्न तथा देशको अस्मितामाथि प्रश्न उठ्ने गरी गलत हल्ला फैलाउनेलाई कारबाही गर्न माग गर्दछौं,’ गाउँपालिका अध्यक्ष मानवीर बोहराद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ। राष्ट्रियतासँग जोडिएको विषयमा हल्ला फैलिएपछि उच्च पदस्थहरुले चासो राख्नु स्वभाविकै भएको बझाङका प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेले बताएका छन्।

‘यो केबल हल्ला मात्र हो, सत्य होइन भनेर माथिल्लो निकायमा जानकारी गराइसकेको उनले बताए। यस्तै, नेकपा एकीकृत समाजवादीका सांसद भानुभक्त जोशीले बझाङको साइपाल गाउँपालिकाको माझा भन्ने ठाउँमा अमेरिकाले सैनिक क्याम्प खडा गरेको भनी गलत प्रचार भएको भन्दै सरकारको ध्यानाकर्षण गरेका छन्।

मंगलबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै उनले नेपाली भूमिमा अमेरिकाले सैनिक क्याम्प खडा गरेको भन्ने गलत प्रचारका पछाडि के लुकेको छ? त्यसबारे छानबिन गर्न सरकारलाइ भनेका छन्। ‘आफूलाई राजनीतिक विश्लेषक भन्ने भरत दाहालले यही जेठ ६ गते भिडिओ बनाएर बझाङ जिल्लाको साइपाल भन्ने गाउँपालिकाको माझा भन्ने ठाउँमा अमेरिकी सेनाले सैनिक क्याम्प खडा गरेर बसेको, स्थानीय प्रशासन, सिडिओलाई खबर गर्दा सिडिओले बेवास्ता गरेको र केही नेपाली कांग्रेस हुँ भन्ने स्थानीयले अमेरिकी सेनालाई राख्न सहयोग गरेको भनेर भ्रमपूर्ण समाचार प्रशारण गरेको’ जोशीले भनेका छन्। उनले यस विषयमा छानबिन गर्न माग गरेका छन्।

कमेन्ट लोड गर्नुस