सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिमको बीमा बजारः ९ महिनामा ६ अर्ब बढी संकलन

२०८० जेठ ७, १२:१८

वीरेन्द्र भट्ट, धनगढीः सुदूरपश्चिममा बीमा व्यवसाय फस्टाउँदै गएको छ। संघीय राजधानी लगायत ठुला सहरमा कर्पोरेट कार्यालय रहेका विभिन्न जीबन तथा निर्जीवन बीमा कम्पनीका प्रायः शाखा एवं प्रदेशस्तरीय कार्यालय सुदूरपश्चिममा खुलेसँगै बीमाको व्यापार बढ्दै गएको हो। चालु आर्थिक वर्षको ९ महिनाको अवधिमा मात्र सुदूरपश्चिमबाट ६ अर्ब बढी रकम संकलन भएको तथ्यांक छ।

प्रदेशभित्र सक्रिय निर्जीवन बीमालेखको संख्या एक लाख ११ हजार २६२ र सक्रिय जीबन बीमा लेखको संख्या चार लाख ५१ हजार ११४ देखिएको छ। नेपाल बीमा प्राधिकरणका अनुसार चालू आर्थिक वर्षको चैत मसान्तसम्ममा नेपालमा कुल सक्रिय निर्जीवन बीमालेखमध्ये सुदूरपश्चिमको योगदान ५ दशमलव १४ प्रतिशत छ।

त्यस्तै कुल सक्रिय जीवन बीमालेखमध्ये सुदूरपश्चिम प्रदेशको योगदान ३ दशमलव १९ प्रतिशत देखिएको छ। बीमा कम्पनीहरूले चालू आर्थिक वर्षको ९ महीनामा सुदूरपश्चिमबाट निर्जीवन बीमाअन्तर्गत ७७ करोड ८९ लाख ९२ हजार बीमाशुल्क आर्जन गरेका छन्। त्यस्तै जीबन बीमा शुल्क अन्तर्गत पाँच अर्ब ३२ करोड ९३ लाख ६२ हजार गरेर कुल ६ अर्ब १० करोड ८२ लाख ५४ हजार सुदूरपश्चिमबाट संकलन भएको छ।

बीमा कम्पनीहरुको कारोबार सबैभन्दा बढी कैलालीबाट हुने गरेको छ। जिल्लाको धनगढी, टीकापुर, अत्तरिया लगायत क्षेत्रबाट बीमा कारोबार सबैभन्दा बढी हुने गरेको छ। दोस्रोमा कञ्चनपुर जिल्लाबाट बीमा कारोबार बढी हुने गरेको छ। महेन्द्रनगर, झलारी, गुलरिया क्षेत्रबाट यस्तो कारोबार बढी हुने गरेको छ। प्रदेशका पहाडी जिल्लामा पनि बीमा कम्पनीको उपस्थिति बढेसँगै बीमा गराउनेको संख्या बढ्दो क्रममा छ।

कमेन्ट लोड गर्नुस