सुदूर नेपाललाई विश्वसँग जोड्दै

शिवशिखर धनगढीमा बचतकर्ताको ६३ करोड होल्ड, जाहेरी दिन प्रहरीको सूचना

२०८० जेठ ५, ०६:४५ नारायण अवस्थी

धनगढीः जिल्ला प्रहरी कार्यालय कैलालीले शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाविरुद्ध जाहेरी दिन सूचना निकालेको छ। जिल्ला प्रहरी कार्यालयले प्रमाणसहित कार्यालयमा निवेदन दिन आग्रह गरेको छ। प्रहरीले एक सूचना जारी गर्दै सहकारीले ठगी गरेको भए आवश्यक कागजातसहित जिल्ला प्रहरी कार्यालय कैलालीको अपराध अनुसन्धान शाखामा सम्पर्क राख्न आग्रह गरेको छ।

सूचनामा सहकारीले साँवा ब्याज फिर्ता नगरेर ठगी गरेको भए जाहेरी दरखास्त दिन नागरिकताको प्रतिलिपी, नगद जम्मा गरेको पासबुकसहित जाहेरी दिन आग्रह गरिएको हो।

जाहेरी दिन सार्वजनिक गरिएको सूचनामा शिबशिखर बहुउदेश्यीय सहकारी संस्था लिमिटेडले विभिन्न जिल्लामा शाखा सञ्चालन गरेर संस्थाका पदाधिकारी र कर्मचारीले निक्षेपकर्ताहरुको बचत रकम फिर्ता नगरेको, शिवशिखर अर्गनाईजेसनलगायतका प्राइभेट फर्महरुमा लागानी गरी बचत हिनामिना गरेकाले निजहरू उपर कारबाही चलाउन निवेदन दिन भनिएको छ।

प्रहरीले भक्तपुर जिल्ला भित्रका बिभिन्न शाखाका बचत कर्ताहरुले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोमा दिएको जाहेरीको आधारमा सहकारी ऐन २०७४ बमोजिमको कसुरमा मुद्दा दर्ता भई आवश्यक अनुसन्धान भइरहेको उल्लेख गरेको छ।

शिवशिखरले कैलालीमा धनगढी र अत्तरियामा शाखा विस्तार गरेको छ। धनगढी शाखामा मात्रै ६ हजार बचतकर्ता रहेका छन्। धनगढी शाखाबाट शिवशिखरले ६२ करोड ८३ लाख निक्षेप संकलन गरेर लगानी केबल ४ करोड ५१ लाख मात्रै गरेको छ। धनगढीबाट सहकारीमा जम्मा भएको बचत सहकारी ऐन विपरीत लगानी गरिएको खुलेको छ।

शिवशिखरले जग्गा तथा सहकारी ऐनले लगानी गर्न निशेध गरिएको क्षेत्रमा पूँजी लगाएका कारण बचतकर्ताको निक्षेप फिर्ता गर्न सकेको छैन। धनगढी, अत्तरिया, डडेल्धुरा र महेन्द्रनगरका खोलिएका शाखामा बचत गर्ने सर्वसाधारण सहकारीले पैसा डुबाएको भन्दै आन्दोलन गर्दै आएका छन्।

नारायण अवस्थी दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस