सुदूर नेपाललाई विश्वसँग जोड्दै

सेतीमा बिरामीले उपचार पाउँदैनन्, 'आकस्मिक कक्षबाटै हकारेर फर्काउँछन्'

२०८० जेठ ५, ०८:२३ नारायण अवस्थी

धनगढीः धनगढी उपमहानगरपालिका वडा नम्बर १३ श्रीलंकाका जितबहादुर चौधरीले गत चैत दोस्रो साता भाइलाई सेती प्रादेशिक अस्पताल ल्याए। कलेजो बिग्रेको समस्याले हिड्न नसक्ने भएका चौधरीका ३१ वर्षीय भाइ सरोज चौधरीलाई सेती अस्पतालमा भर्ना गरिएन्। सरोजलाई देखिएको स्वास्थ्य समस्या सामान्य भएको भन्दै अस्पतालले भर्ना गर्न नमानेको जितबहादुरको दाबी छ।

हात, खुट्टा र मुख सुन्निएर हिड्न नकस्ने भएका सरोजलाई पद्मा अस्पतालले थप उपचारका लागि सेतीमा रेफर गरेको थियो। सेतीमा उपचार गर्न सस्तो हुन्छ भनेर आए पनि अस्पतालले उपचार गर्न नमानेको जितबहादुरले बताए। 'सेतीमा उपचार सस्तो र राम्रो होला भनेर गएका थियौँ तर यो केस त भर्ना गर्न मिल्दैन सामान्य हो भनेर उपचार नै गरिएन,' उनले भने, 'त्यसपछि बाध्य भएर पलिया सक्सेनाकोमा लगेर उपचार गर्नुपर्यो।'

सरोजको पलिया लगेर उपचार गर्दा अहिले रोग निको हुँदै गरेको जितबहादुरले बताएका छन्। उनले आफ्नो देशको सरकारी अस्पतालमा सस्तोमा उपचार हुन्छ भन्ने आशा मेरको बताएका छन्। पैसाको समस्या परेर सरकारी अस्पताल जानेलाई चिकित्सकल र अन्य स्वास्थ्यकर्मीहरूले निजी अस्पताल र क्लिनिकमा पठाउने उद्येश्यले बिरामी नहेर्ने, गुनासो गर्दा हकार्ने र यहाँ उपचार सम्भव नभएको बताउने गरेको घटनाको भुक्तभोगी आफू भएको जितबहादुरले बताएका छन्।

जितबहादुरले डेढ महिनाको अन्तरमा सेतीमा उपचार गराउन लैजादा उपचार नपाएको बताएका छन्। गत चैतमा भाइको उपचार नभएको बताएका जितबहादुरले बिहीवार राति ९ बजे छोरालाई अस्पताल लग्दा पनि उपचार सेवा नपाएर फर्किएको बताएका छन्।

बिहीवार छोरा सरोजलाई कुकुरले टोकेपछि रेविज विरुद्धको खोप लगाउन सेतीमा जाँदा खोप छैन भनेर फर्काएको जितबहादुरको दाबी छ। उनले सेतीको आकस्मिक कक्षमा छोरालाई लगेर जाँदा एउटाले खोप छ भन्ने अर्कोले छैन भन्ने गरेको बताएका छन्। त्यसपछि अहिले खोप दिन नसकिने बताएपछि चटकपुरको सेपी अस्पतालमा लगेर खोप लगाएको चौधरीले बताए।

'सेतीका डाक्टर र नर्सहरू हकार्छन्'
सेतीमा उपचार गर्न गए चिकित्सिक र नर्सिङ कर्मचारीले हकार्ने गरेको जितबहादुरले बताएका छन्। उनले भाइ र छोरालाई आकस्मिक कक्षमा लगेर जाँदा दुबै पटक त्यहाँ भएका स्वास्थ्यकर्मीलाई बिरामीको जाँच गर्न पटकपटक आग्रह गर्नुपरेको बताएका छन्। मोबाइल हेर्न व्यक्त एक जना महिला स्वास्थ्यकर्मीलाई बिरामी हेर्न अनुरोध गर्दा उनले हकारेको र डाक्टरले पनि झर्केर जवाफ दिएको जितबहादुरको गुनासो छ।

यस्तै, बैशाख ११ गते प्रसुति गराउन सेती अस्पताल आएका गोदावरीका सरिता भट्टले पनि डेलिभरी कक्षमा नर्सहरूबाट दुर्वचन सुन्नु परेको गुनासो गरेका छन्। उनले पहुँच भएका व्यक्तिको मान्छे भनेर नर्सहरूले नानाथरी कुरा सुनाएको गुनासो गरेका छन्।
जितबहादुरले भने अस्पतालका स्वास्थ्यकर्मीको नराम्रो व्यवहार सुध्रनुपर्ने बताएका छन्। पैसा नहुनेले नेपालमा उपचार नै नपाउने समस्या रहेको दुईटा घटनाका भुक्तभोगी भएकाले बताएका छन्।

अस्पतालको भनाइ यस्तो
सेती अस्पतालमा बिरामीलाई दुर्व्यवहार हुने र अन्यत्र पठाउने चेष्टा हुने गरेको विषयमा अस्पतालका प्रमुख मेसु डाक्टर हेमराज पाण्डेसँग कुरा गर्दा यो विषमा बुझ्ने बताएका छन्। उनले कलेजोको बिरामीको हकमा ओपिडीबाट उपचार गर्नुपर्ने भएर आकस्मिक कक्षमा नहेरिएको हुन सक्ने बताएका छन्। उनले थप प्रतिक्रिया दिन घटना विस्तृतमा बुझ्नुपर्ने बताए।

यस्तै, लेवर रुममा भएको दुर्व्यवहार बारे त्यो दिन ड्युटीमा रहेका नर्सिङ कर्मचारीबाट बुझ्ने बताएका छन्। रेबिज विरुद्धको इमिनोग्लोविन खोपसमेत अस्पतालमा रहेको पाण्डेले बताए। रेबिज विरुद्धको सामान्य खोप दोस्रो दिन पनि लगाउन सकिने भएकाले आकस्मिक कक्षमा भोलि आउनु भनेको हुनसक्ने बताइएको छ। स्टोरको मान्छे रातिको समयमा अस्पतालमा नहुने भएकाले भोलिपल्ट आउनु भनेको हुनसक्ने प्रमुख मेसु पाण्डेले बताए। 'सेतीबाट धनगढीका अन्य अस्पताल र क्लिनिकमा जाउन भनेर उपचार नगरिने या नहुने भन्ने तथ्य गलत हो,' उनले भने, 'सेतीबाट यहाँका अन्य अस्पतालमा रेफर गर्नै मिल्दैन।' 

नारायण अवस्थी दिनेश खबरका सहायक सम्पादक हुन्। उनले शिक्षा, स्वास्थ्य र कृषि विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस