धनगढीले यो वर्ष ३८ लाख मूल्यका अपाङ्गता सहायता सामग्री वितरण गर्दै
धनगढीः धनगढी उपमहानगरपालिकाले चालु आर्थिक वर्षमा ३८ लाख मूल्यका अपाङ्गता सहायता सामग्री वितरण गर्ने भएको छ। चालु आर्थिक वर्षमा उपमहानगरका १९ वटै वडाका अपाङ्गता भएका २०६ जना व्यक्तिलाई विभिन्न किसिमका सहायता सामग्री वितरण गरिने भएको हो।
गत माघमा नगरपालिकाको चार स्थानमा अपाङ्गता स्क्रिनिङ शिविर सञ्चालन गरेर पहिचान भएका सबै व्यक्तिलाई सामग्री वितरण गर्दा ३८ लाख खर्च हुने भएको हो। संघीय सरकारबाट उपमहानगरपालिकालाई यो वर्ष अपाङ्गता भएका व्यक्तिहरूका लागि १० लाख बजेट प्राप्त भएको थियो। तर, अपाङ्गता भएका सबै व्यक्तिलाई सहायता सामग्री प्रदान गर्ने उपमहानगरले नीति लिएकाले थप २८ लाख आन्तरिक आयबाट व्यवस्थापन गरिएको नगरप्रमुख गोपाल हमालले बताए।
नगर क्षेत्रमा बसोवास गर्ने कुनै पनि नागरिक सहायता सामग्रीबाट बञ्चित नहुन भनेर घरघर पुगेर अपाङ्गता भएका व्यक्तिको खोजी गरिने र सबैलाई सामग्री वितरण गर्ने नगरप्रमुख हमालले बताए।
उपमहानगरले महेन्द्रनगरको सामाजिक संस्था एनएनएसडब्लुएको प्राविधिक सहयोगमा व्यक्तिको नापजाँच लिएर सहायता सामग्री तयार गरेर हरेक वडामा गएर वितरण गर्न थालेको छ। सोमवार फूलवारी क्षेत्रका तीन वडामा अपाङ्गता भएका व्यक्तिलाई सहायता सामग्री हस्तान्तरण गरिएको छ।
उपमहानगरको वडा नम्बर १४, १८ र १९ का अपाङ्गता भएका व्यक्तिलाई सहायता सामग्री हस्तान्तरण गरिएको हो। उपमहानगरका १९ वटै वडामा गत माघमा अपाङ्गता भएका व्यक्तिहरूको स्क्रिनिङ शिविर सञ्चालन गरेको थियो। केही व्यक्तिलाई शिविरमै सहायता सामग्री प्रदान गरेको उपमहानगरले बाँकी व्यक्तिलाई सोमवार सामग्री हस्तान्तरण गरेको हो।
सामग्री हस्तान्तरण गर्दै नगरप्रमुख गोपाल हमालले अपाङ्गता भएका व्यक्तिलाई खोजीखोजी सहयोग गरिने बताएका छन्। उनले अन्य काम बरू पछि गर्ने अपाङ्गता भएका नागरिकलाई पहिलो प्राथमिकता दिएर सहयोग गर्ने नीति अनुरुप आज वडा नम्बर १४ का ६, वडा नम्बर १८ का २७ र वडा नम्बर १९ का ११ जना अपाङ्गता भएका व्यक्तिलाई सहायता सामग्री हस्तान्तरण गरेको बताए। अपाङ्गता शिविरमा आएर नापजाँच गराएका अन्य वडाका अपाङ्गता भएका व्यक्तिलाई पनि सामग्री हस्तान्तरण गरिने नगरप्रमुख हमालले बताए।