धनगढीमा खानेपानीका पाईप मर्मतमा पनि महिनौँ लाग्दै
धनगढी उप–महानगरपालिकाको वडा नम्बर ६ मट्यारीमा नयाँ कालोपत्रेको भएको सडक छेउमै खानेपानीको पाईप फुटेको महिनौ भयो। पाईप फुटेपछि ठूलो मात्रमा पानी खेर गईरहेको छ। खानेपानी संस्थानलाई मर्मतका लागि पटक–पटक आग्रह गर्दा पनि मर्मत नभएको स्थानीय ईन्द्रबहादुर शाहीले बताए। धनगढीका अधिकासं नगरवासी खानेपानीको अभावले काकाकुल भएका बेला पहुँच पुगेको क्षेत्रमा पनि फुटेकै पाईप मर्मतमा समेत महिनौँ लाग्ने गरेपछि स्थानीय आक्रोसित भएका छन्।
पुर्वाधार निर्माण भईरहेको स्थानमा वढी खानेपानीका पाईप फुटीरहेका छन्। उप–महानगरपालिकाकै वडा नम्वर ५ तारानगरमा पनि सडकको नाली निर्माण गर्दा खानेपानीको पाईप फुटेर पानी खेर गईरहेको छ। स्थानीय समस्यामा परेका छन भने सोही स्थानमा रहेको खेलमैदान पनि हिलाम्मे वनेको स्थानीय कालिशरण चौधरीले बताए। धनगढीमा निर्माणाधिन अवस्थामा रहेको मोहनापुल अत्तरिया ६ लेन सडकमा त ठाउँ–ठाउँमा खानेपानीको पाईप फुटेको छ।
चैराह नजिकको क्षेत्रमा पाईप फुटेर ताल नै बनेको छ। यस्तै संघीय शहरी आयोजना कार्यालय र उप–महानगरपालिकाले निर्माण गरिरहेको सडकमा पर्ने खानेपानीका पाईपहरु फुट्ने गरेको भएपनि निर्माण कम्पनी तथा खानेपानी सस्थानले वास्त नगरेको नगरवासीले गुनासो गरेका छन्। धनगढी नगर क्षेत्र भित्र खानेपानीको व्यवस्थापन गरिरहेको खानेपानी संस्थानले भने पाईप फुटेको विषयमा अनभिज्ञता प्रकट गरेको छ।
६ लेन सडक देखी अन्य स्थानमा भईरहेका पुर्वाधार विकासको क्रममा खानेपानीका पाईपका कारणले समस्या आउने गरेको भएपनि निर्माण गर्ने कार्यलय तथा निर्माण व्यवसायीले खवर नै नगर्ने गरेको आरोप खानेपानी संस्थानले लगाएको छ। स्थानीयले जानकारी गराएपनि जनशक्ति अभावको कारण देखाउदै मर्मत गर्नमा संस्थानले ढिलासुस्ती गरेका वेला धनगढी क्षेत्रमा देखिएको पाईप फुट्ने समस्याको समाधान छिट्टै गर्ने दावी खानेपानी संस्थान धनगढी कर्मचारी प्रशासन शाखाका प्रमुख नेत्रलाल चौधरीले गरे।