सेती अस्पतालमा उपचार गराउने बिरामीको संख्या बर्सेनि बढ्दो
क्षमता विस्तारमा छैन चासो
धनगढीः सेती प्रादेशिक अस्पतालको ओपिडीमा उपचार गराउने बिरामीको संख्या बर्सेनि बढ्दो छ। हरेक वर्ष डेढ लाख बढी बिरामीको ओपिडीमा उपचार हुने गरेको छ। ५० शय्याको स्वीकृत दरबन्दी र ७५ शय्याको अस्पताल विकासको दरबन्दी रहेको सेतीमा बिरामीको चाप थेगि नसक्ने गरी बढ्न थालेको हो।
वि.स.२०४० मा कायम भएको ५० शय्याको दरबन्दीमा ४० वर्षको अन्तरालमा दबन्दी थप्ने काम भएको छैन। सेतीका १३ वटा विभागमा बिरामीको चाप देखिए पनि क्षमता बढाउने काम भएको छैन। जसका कारण बिरामी नीजि अस्पतालमा महङ्गो शुल्क तिरेर उपचार गराउन बाध्य छन्।
चार वर्षमा आए ४ लाख २९ हजार बढी बिरामी ओपिडीमा
सेती प्रादेशिक अस्पतालमा गत आर्थिक वर्षदेखि बिरामी आउने दर ह्वात्तै बढेको छ। अस्पतालको ओपिडी विभागमा आर्थिक वर्ष २०७६/७७ मा ७० हजार ७५३ र आर्थिक वर्ष २०७७/०७८ मा ५९ हजार ६२९ बिरामी आएकामा त्यसपछिका वर्षमा भने यो संख्या दोब्बरले बढेको छ।
सेतीको ओपिडीमा गत आर्थिक वर्षमा १ लाख ६ हजार ७६८ बिरामी आएको तथ्याङ्क छ भने चालु आर्थिक वर्षको चैत मसान्तसम्म बिरामीको संख्या १ लाख ९२ हजार ५१२ पुगेको छ। ओपिडीमा मात्रै नभएर अन्य १२ वटा विभाग र इकाइमा पनि बिरामी आउने दर बर्सेनि बढ्दो छ।
आकस्मिक कक्षमा १ लाख २५ हजार बढीको उपचार
सेतीको आकस्मिक कक्षमा आर्थिक वर्ष २०७६/०७७ मा ३३ हजार ८४, आर्थिक वर्ष २०७७/०७८ मा २६ हजार ६७९, आर्थिक वर्ष २०७८/०७९ मा २८ हजार ८६८ र चालु आर्थिक वर्षको चैत मसान्तसम्म ३६ हजार ७२२ बिरामी आकस्मिक कक्षमा उपचार गराउन आएको तथ्याङ्क छ।
चार वर्षमा २३ हजार ७५२ प्रसूति
सेतीको प्रसूति विभागमा २०७६/०७७ मा ५ हजार ७१३, २०७७/०७८ मा ५ हजार ४५८, २०७८/०७९ मा ७ हजार ७८ र चालु आर्थिक वर्षको चैतसम्म ५ हजार ४८३ ले बच्चा जन्माएका छन्।
५ हजार २४९ गर्भवतीको शल्यक्रिया
सेतीमा बर्सेनि बच्चा जन्माउन शल्यक्रिया गर्नुपर्ने दर पनि बढ्दो छ। आर्थिक वर्ष २०७६/०७७ मा १ हजार ४०५, २०७७/०७८ मा १ हजार २१७ गर्भवतीले शल्यक्रिया गरेर बच्चा जन्माएका छन्। यसैगरी गत आर्थिक वर्षमा १ हजार ४६१ र चालु आर्थिक वर्षको ९ महिनामा १ हजार १६६ गर्भवतीको शल्यक्रिया भएको तथ्याङ्क छ।
५४ हजार २३१ अल्ट्रासाउन्ड
सेतीमा अल्ट्रसाउन्ड गराउने बिरामीको सख्या आर्थिक वर्ष २०७६/०७७ मा ११ हजार ६७, २०७७/७८ मा १३ हजार ३०४, आर्थिक वर्ष २०७८/०८९ मा १८ हजार ७७९ र चालु आर्थिक वर्षको चैतसम्म ११ हजार ८१ देखिएको छ।
चार हजार ५६० सुरक्षित गर्भपतन
त्यस्तै आर्थिक वर्ष २०७७/०७८ मा ९५४, २०७८/०८९ मा २ हजार २०२ र आर्थिक वर्षको चैत मसान्तसम्म सुरक्षित गर्भपतन गराउनेको संख्या १ हजार ४०४ पुगेको छ।
तीन हजार ८२७ एचआइभी संक्रमितको उपचार
सेतीबाट एचआइभी एड्सको उपचार सेवा प्राप्त गर्नेको संख्या आर्थिक वर्ष २०७६/०७७ मा ८८८, आर्थिक वर्ष २०७७/०७८ मा ९५३, २०७८/०७९ मा ९७९ र चालु आर्थिक वर्षमा १ हजार ४०४ देखिएको छ।
९१ हजार २२३ लाई उपचारमा छुट
सामाजिक सेवा इकाइबाट उपचारमा १० हजारसम्म छुट पाउने बिरामीको संख्या आर्थिक वर्ष २०७६/०७७ मा १२ हजार २३२, २०७७/०७८ मा ३२ हजार ३४९, गत आर्थिक वर्षमा २७ हजार ३८६ र चालु आर्थिक वर्षको चैतसम्म १९ हजार २५६ रहेको तथ्याङ्क छ। यस्तै, डायलाइसिस गराउनेको संख्या गत वर्ष ७२ रहेकोमा यो वर्ष बढेर १५९ पुगेको छ।
१४ हजार बढीको दाँत उपचार
सेतीबाट आर्थिक वर्ष २०७७/०७८ मा ४०३, गत वर्ष २ हजार १४९ र चालु आर्थिक वर्षको चैतसम्म ३ हजार ६० बिरामीले फिजियोथेरापी सेवा प्राप्त गरेका छन्। त्यस्तै आर्थिक वर्ष २०७७/०७८ मा ३ हजार ८८६, गत आर्थिक वर्षमा ४ हजार ९११ र चालु आर्थिक वर्षको ९ महिनामा बढेर ५ हजार ६७३ ले दाँतको उपचार गराएको तथ्याङ्क छ।
नौ हजार ३९ शल्यक्रिया
अस्पतालमा शल्यक्रिया गर्न पालो पाउन बिरामीले एक वर्षसम्म कुर्नुपर्ने बाध्यता छ। अन्य बिरामीको तुलनामा सेतीमा शल्यक्रिया हुने दर कम देखिएको छ। आर्थिक वर्ष २०७६/०७७ मा २ हजार ५४२, आर्थिक वर्ष २०७७/०७८ मा १ हजार ९३४, गत वर्ष २ हजार ७४१ र चालु आर्थिक वर्षको चैत मसान्तसम्म १ हजार ८२२ जनाको शल्यक्रिया गरिएको अस्पतालको तथ्याङ्कले देखाएको छ। थोरै शुल्कमा शल्यक्रिया हुने भए पनि अप्रेसन थिएटर, चिकित्सक र बिरामी राख्ने शय्या अभावले सेतीमा शल्यक्रिया सेवा प्राप्त गर्न सहज छैन।
सेती प्रादेशिक अस्पताल जिल्ला अस्पतालबाट २०४० मा अञ्चल अस्पताल र प्रदेश सरकार मातहतमा अहिले प्रादेशिक अस्पताल घोषणा गरिएपनि २७ लाख नागरिकको उपचार गराउने गन्तव्यको क्षमता विस्तारको काम गरिएको छैन। प्रदेश सरकारले विशेषज्ञ सेवा दिने अस्पतालको रुपमा सेतीलाई विकास गर्नसक्ने अवसर सदुपयोग गर्न नसक्दा बिरामीलाई उपचार सेवा पाउन समस्या हुने गरेको छ।