स्वास्थ्य प्रवर्द्धन केन्द्रले गर्यो ‘स्वास्थ्यसँग साहित्य’ कार्यक्रम
धनगढीः धनगढीमा ‘स्वास्थ्यसँग साहित्य’ कार्यक्रमको आयोजना गरिएको छ।
सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालय अन्तर्गतको प्रादेशिक स्वास्थ्य प्रवर्द्धन केन्द्र कञ्चनपुरको आयोजनामा शनिवार नसर्ने रोग तथा लागुऔषध सम्बन्धी स्वास्थ्य प्रवर्द्धनात्मक कार्यक्रम ‘स्वास्थ्यसँग साहित्य’ कार्यक्रमको आयोजना गरिएको हो। स्वास्थ्य प्रवर्द्धनका व्यवहारहरूलाई साहित्य सृजनासँग जोडेर स्वास्थ्य हेरचाहलाई थप प्रभावकारी र रुचिकर बनाउन कार्यक्रम गरिएको हो।
साहित्यसँग स्वास्थ्य सन्देश जोडेर सर्वसाधारणलाई सचेत बनाउन कार्यक्रमको आयोजना गरिएको प्रादेशिक स्वास्थ्य प्रवर्द्धन केन्द्र कञ्चनपुरका प्रमुख हेमराज खड्काले बताए। ‘अहिले प्रदेशमा नसर्ने रोगका कारण सर्वसाधारणको स्वास्थ्यमा जोखिम थपिएको छ। साहित्य सृजनाका माध्यमबाट जनचेतना अभिवृद्धि गरी स्वस्थ जीवनशैलीको अभ्यास गराउन सकिन्छ,’ उनले भने, ‘साहित्य सृजना मार्फत स्वास्थ्य सन्देश प्रभावकारी हुन्छ भनेर कार्यक्रमको आयोजना गरिएको हो।’
कार्यक्रममा १२ जनाले नसर्ने रोग तथा लागुऔषध नियन्त्रण सम्बन्धी सन्देश झल्किने कविता, गजल, गीत, सायरी र डेउडा प्रस्तुत गरेका थिए। स्रष्टाहरूले नेपाली भाषा,डोटेली र थारु भाषामा आफ्नो प्रस्तुति राखेको थिए। सहभागी १२ मध्ये उत्कृष्ट ३ जनालाई पुरस्कार र प्रमाणपत्र प्रदान गरिएको थियो।
साहित्यसँग स्वास्थ्यलाई जोडेर कार्यक्रमको आयोजना गरिनु नयाँ अभ्यास भएको सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका उपकुलपति डाक्टर टिएन जोशीले बताए। उनले स्वास्थ्य जस्तो संवेदनशील विषयमा सहकार्य गर्न प्रज्ञा प्रतिष्ठान प्रादेशिक स्वास्थ्य प्रवर्द्धन केन्द्रसँग सहकार्य गर्न तत्पर रहेको बताए। कार्यक्रमको सञ्चालन सामाजिक विकास मन्त्रालयका कानुन अधिकृत दानबहादुर सुनार र प्रदेश युवा परिषद्का कार्यकारी सदस्य शेरसिंह विष्टले गरेका थिए।
सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा.टिएन जोशीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा सुदूरपश्चिम साहित्य समाजका अध्यक्ष तीर्थराज पाण्डेय र महासचिव गणेश नेपाली साहित्यकार पदमराज जोशी (प्रभात)अतिथि रहेका थिए। कार्यक्रममा साहित्यकार अध्येता र विद्यार्थीहरूको सहभागिता रहेको थियो।