सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा पढाएको विषय र प्रश्नपत्र फरक परेपछि...

२०८० वैशाख ३०, १०:४२ नारायण अवस्थी

धनगढीः धनगढी प्राविधिक नमुना माविले प्राविधिक धारमा साधारण धारको पाठ्यपुस्तक अध्यापन गराएको खुलेको छ। विद्यालयले प्राविधिक धारमा अध्ययन गर्ने विद्यार्थीलाई साधारण धारमा पढाइ हुने 'सामाजिक अध्ययन तथा जीवननोपयोगी शिक्षा' अध्यापन गराएको हो।

विद्यालयको पाठ्यपुस्तक छनोटमा गरेको गल्तीले इन्जिनिरिङ धारका ४८ विद्यार्थीको सामाजिक अध्ययनको परीक्षा बिग्रेको छ। विद्यालयले एक वर्षसम्म प्राविधिक धरामा कक्षा १२ मा अध्ययन गरिरहेका विद्यार्थीलाई साधारण धारको 'सामाजिक अध्ययन तथा जीवननोपयोगी शिक्षा' अध्यापन गराएको खुलेको छ। तर, पाठ्यक्रम विकास केन्द्रले भने प्राविधिक धारतर्फ इन्जिनियरिङ अध्ययन गर्ने विद्यार्थीका लागि 'सामाजिक अध्ययन' भनेर अलग्गै पाठ्यक्रम निर्माण गरेको छ। अलग पाठ्यक्रमका आधारमा बनेको पाठ्यपुस्तक नपढाएर विद्यालयले साधारणतर्फको पाठ्यपुस्त पठनपाठन गराउँदा शुक्रवार भएको परीक्षामा प्राविधिक धारका विद्यार्थीको बिचल्ली भएको छ।

कक्षामा पढेको भन्दा फरक प्रश्नपत्र आएपछि विद्यालयका ४८ जना विद्यार्थी नै सामाजिक अध्ययन विषयमा असफल हुने भन्दै निरास भएका छन्। एक जना अभिभावकले विद्यालयको कारण आफ्नो छोराको परीक्षा बिग्रेको बताए। उनले विद्यालयको अकर्मण्यताले विद्यार्थीको एक वर्ष खेर जाने भएको बताए।

यता विद्यालयका सामाजिक अध्ययन गराउने शिक्षक सानु चौधरीले साधारण धारतर्फको पाठ्यपुस्तक सन्दर्भ पुस्तिकाका रुपमा प्रयोग गरेको र प्राविधिक धारका लागि साधारण धारका लागि निर्माण गरिएको पाठ्यपुस्तकको ९५ प्रतिशत विषयवस्तु मिल्ने बताए। उनले बजारमा प्राविधिक धारतर्फको पुस्तक नमिलेकाले साधारणतरर्फको 'सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा' पढाएको बताए। कोर्ष मिल्ने भएकाले यो उपाय अपनाएको रानाले बताए।

धनगढी प्राविधिक नमुना विद्यालयका प्राचार्य लक्ष्मण भट्टले पाठ्यपुस्तक छनोटमा त्रुटि भएको स्वीकार गरे। उनले बजारमा प्राविधिक धारको पुस्तक पाउन नसक्दा साधारण धारतर्फको पाठ्यपुस्तकले काम चलाएको बताए। विद्यालयले धनगढीमा पाठ्यपुस्तक उपलब्ध नभएको अवस्थामा अभिभावक र विद्यार्थीलाई अन्यत्रबाट मगाउन नभनेको अभिभावकले बताएका छन्। बजारमा पाठ्यपुस्तक नमिलेको जानकारी गराएको भए काठमाडौंबाट भए पनि मगाउन सकिने अवस्था हुँदाहुँदै पाठ्यपुस्तक बारे जानकारी विद्यालय र विषय शिक्षकलाई नहुनु आश्चर्यको विषय भएको बताएका छन्।

परीक्षामा एक वर्षसम्म पढाइएको र पढेको भन्दा फरक प्रश्नपत्र आउँदा उत्तर लेख्न नसकेको विद्यार्थीहरूले बताएका छन् भने अभिभावकले विद्यालयले लापरबाही गरेको गुनासो गरेका छन्।

नारायण अवस्थी दिनेश खबरका सहायक सम्पादक हुन्। उनले शिक्षा, स्वास्थ्य र कृषि विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस