६ लेन सडक र महाकाली पुल आयोजनामा प्रमुख आउँदै, फाष्ट ट्रयाकको अन्योलता कायमै
सुदूरपश्चिम प्रदेशमा सञ्चालनमा रहेका ठुला आयोजनाहरु प्रमुख बिहिन रहेकोमा तीन आयोजनमा प्रमुख आउने भएका छन्। सुदूरपश्चिम प्रदेशमा सञ्चालनमा रहेका मोहनापुल–अत्तरिया ६ लेन सडक आयोजना, डिभिजन सडक कार्यालय महेन्द्रनगर, महाकाली पुल आयोजना र धनगढी–दिपायल द्रुतमार्ग कार्यालय प्रमुख बिहिन रहेका थिए। अब भने धनगढी–खुटिया–दिपायल द्रतमार्ग बाहेक तीन योजनाले प्रमुख पाउने भएका हुन्। मोहनापुल–अत्तरिया ६ लेन सडकमा हेमबहादुर एसी, महाकाली पुल आयोजनामा खड्गलाल श्रेष्ठ र डिभिजन सडक कार्यालय कञ्चनपुरमा अर्जुनकुमार बम आउने भएका हुन्। उनीहरुलाई तीन कार्यालयमा कार्यालय प्रमुखको रुपमा खटाउने निर्णय भएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सूचना अधिकारी लेखनाथ ज्ञावालीले जानकारी दिए।
मोहनापुल–अत्तरिया ६ लेन सडक आयोजनाका प्रमुख राजेश पौडेलको चैत्र १४ गते सरुवा भएको थियो भने अन्य कार्यालयका प्रमुखहरुको यो भन्दा अगाडी नै सरुवा भएको थियो। अहिले कार्यालयहरु प्रमुख बिहिन रहेका छन्। धनगढी दिपायल द्रुत मार्गमा भने अझै योजना प्रमुख पठाउने बारे छलफल समेत भएको छैन्। संघीय सरकारले प्रदेश सरकारको मातहतबाट योजना लगेको २ महिना पुगेपनि अहिले सम्म योजना प्रमुख खटाउने बारे टुङगो नलागेको हो। प्रदेश सरकारले योजना प्रमुख खटाउने निर्णय गरेको महिना नपुग्दै संघीय सरकारले योजना खासेको थियो।