सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा कक्षा ८ को सम्परीक्षणमा ७ सय बढी उत्तरपुस्तिकाको नतिजा सुधार

२०८० वैशाख २७, ०२:४४ नारायण अवस्थी

धनगढीः शैक्षिक सत्र २०७९ मा आधारभूत तह (कक्षा ८ ) को वार्षिक परीक्षामा धनगढीका १ सय ६ विद्यालयका  ४ हजार ६ सय ३८ विद्यार्थी सहभागी भएका थिए। उपमहानगरले लिएको वार्षिक परीक्षामा १ हजार ५ सय ३ अर्थात ३२ दशमलव ४१ प्रतिशत विद्यार्थी मात्रै कक्षा ९ मा भर्ना हुन योग्य देखिएका थिए।

परीक्षाको नतिजा प्रकाशित भएपछि परीक्षा समितिले पुनर्योगका लागि बैशाख १९ गतेसम्म निवेदन दिन सक्ने व्यवस्था मिलाएको थियो। अनुत्तीर्ण रहेका विद्यार्थीमध्ये १ हजार ९ सय ६१ उत्तरपुस्तिका पुनर्योगका लागि आवेदन परेका परेका थिए। आएका आवदेनअनुसार उत्तरपुस्तिका पुनर्योग र सम्परीक्षण दुबै गरिएको शिक्षा युवा तथा खेलकुद महाशाखा प्रमुख नरेन्द्रबहादुर खातीले बताए। 'पुनर्योगका लागि बैशाख १९ गतेसम्म निवेदन लिएका थियौँ,' उनले भने, '४१ हजार ७ सय ४२ उत्तरपुस्तिकामा १ हजार ९ सय ६१ उत्तरपुस्तिका पुनर्योगका लागि निवेदन परेका थिए।'

पुनर्योगका लागि परेका निवेदनअनुसार नेपालीका २२० उत्तरपुस्तिका, अङ्ग्रेजीका १२७, गणितका ४३८, सामाजिकको २८४ उत्तरपुस्तिकाको पुनर्योग गरिएको थियो। यस्तै, विज्ञानका १८५, स्वास्थ्यका ११८, पेसा व्यवसायका २२५, नैतिक र कम्प्युटर दुबैमा समान ३२५ उत्तरपुस्तिकाको पुनर्योग गरिएको हो। तर, पुनर्योग गर्दा नतिजामा कुनै सुधार नदेखिएपछि परीक्षा समितिले सम्परीक्षण गरेको खातीले बताए। 'आधारभूत तह परीक्षा सञ्चालन र व्यावस्थापन समितिको निर्णयअनुसार समितिका पदाधिकारीद्वारा पुनर्योग गरिएको हो,' उनले भने, 'नतिजामा सुधार नदेखिएपछि न्युनतम प्राप्ताङ्कलाई आधार बनाएर विषय विज्ञबाटै सम्परीक्षण गरिएको हो।'

संघीयर सरकारले बनाएको परीक्षा, पुनर्योग र सम्परीक्षणको मापदण्डको अधिनमा रहेर पुनर्योग र सम्परीक्षण गरिएको परीक्षा समितिले जनाएको छ। पुनर्योग गर्दा नै सम्परीण गर्न न्युनतम प्राप्ताङ ल्याएका उत्तरपुस्तिका अलग्याएर विषय विज्ञबाट सम्परीक्षण गराइएको हो। नेपाली, अङ्ग्रेजी, विज्ञान र सामाजिक विषयमा कम्तिमा २१ नम्बर आएका उत्तरपुस्तिकाहरूको सम्परीक्षण गरिएको हो।

यस्तै, गणितमा न्युनतम ३० नम्बर, पेसा व्यवसाय र कम्प्युटरमा १४, स्वास्थ्यमा ७ र नैतिक शिक्षामा न्युनतम ६ नम्बर आएका उत्तरपुस्तिकाहरूको सम्परीक्षण गर्दा ७ सय ७८ उत्तरपुस्तिकाको नतिजामा सुधार आएको हो। उत्तरपुस्तिका सम्परीक्षण गर्दा मौका परीक्षा दिन पाउने विद्यार्थीको संख्या बढेको तर कति विद्यार्थी पास भए भन्ने कुरा विश्लेषण गर्न बाँकी रहेको शिक्षा युवा तथा खेलकुद महाशाखा प्रमुख खातीले बताए। 'सम्परीक्षण गरिएका सबै विद्यार्थी पास भएका होइनन्। सम्परीक्षणले मौका परीक्षा दिन पाउनेको संख्या बढेको छ तर कति पास भए भन्ने कुरा सम्बन्धित विद्यालयलाई थाहा भइसकेको छ,' उनले भने, 'हामीले सिम्बोल नम्बरअनुसार विद्यालयहरूमा नतिजा पठाइसकेका छौँ।'

सम्परीक्षण गर्दा नेपालीका ८७, अङ्ग्रेजीका ५६, विज्ञानका ७३ र गणितका ११३ उत्तरपुस्तिकाको नतिजा सुधार भएको छ। यसैगरी स्वास्थ्यका ६२, पेसा व्यवसायका १२३, नैतिकका २२ र कम्प्युटरका ८९ उत्तरपुस्तिकाको नतिजामा सुधार आएको छ। 
 

नारायण अवस्थी दिनेश खबरका सहायक सम्पादक हुन्। उनले शिक्षा, स्वास्थ्य र कृषि विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस