बैतडीमा ८२ वर्ष पुरानो कुवा (देन्वालो) जीर्ण बन्दै
महेश चन्दः बैतडीको दशरथ चन्द नगरपालिका वडा नम्बर २ देहीमाण्डौंमा रहेको ७७ वर्ष पुरानो कुवा (देन्वालो) जीर्ण बन्दै गएको छ। १९९८ सालमा निङ्लासैनी भगवती मन्दिरमा जल चढाउन निर्माण गरिएको सो कुवा संरक्षण अभावमा जीर्ण वन्दै गएको हो। कुवाको पानी संरक्षणका लागि निर्माण गरिएको स्लेटको छानो र भित्ताहरु भत्किने अवस्थामा पुगेको स्थानीय शंकर वोहराले बताए। घेर पर्खालको उचित प्रबन्ध नहुँदा बजार क्षेत्रको भल कुवामा मिसिन गई पानी दुर्गन्धित हुने गरेको बोहराले बताए।
झण्डै ८ हजार लिटर पानी संकलन गर्न सक्ने क्षमता रहेको सो कुवा निङ्लासैनी मन्दिरमा जल चढाउने उद्देश्यले तत्कालिन ‘पाँच सै’ ले न्वालो निर्माण गरिएको भए पनि पछिल्लो समय स्थानीयले पिउने, कपडा धुने, गाईवस्तुलाई खुवाउने लगायतका प्रयोजनका लागि प्रयोग गर्ने गरेका छन्।
कुवा निर्माण गरेको केही वर्ष पछि पानी भर्ने क्रममा भट्ट थर कि एक किशोरीको कुवामा डुवेर मृत्यु भएपछि मन्दिरमा सो कुवाको पानी चढाउन छोडिएको स्थानीय बुढापाकाले बताएका छन्। १४ वटा सिंढी र झण्डै ८ फिट उचाइ तथा सोही मात्रामा चौडाइ रहेको उक्त कुवा (देन्वालो) मा पानी भर्ने क्रमम अहिलेसम्म ३ जनाले ज्यान गुमाएका छन्। बजारदेखि पाँच सय मिटर दुरीमा रहेको देन्वालो देहीमाण्डौं बजार र आसपासका बस्तीहरुको पानीको मुख्य श्रोत हो।
न्वालोमा सुख्खायाममा समेत पानी नघट्ने स्थानीयले बताएका छन्। हरेक वर्ष चार पटक मेला लाग्ने निङ्लासैनी मन्दिरमा मेला भर्न आउने, भक्तजन, मेलामा जेरी, मिठाई, चनालगायत खाद्य वस्तु बिक्रीका लागि सञ्चालन गरिने होटल व्यावसायीलेसमेत यहीँ कुवाको पानी प्रयोग गर्ने गर्दछन्।
चारैतिर पक्की पर्खाल, माथि स्लेटको छानो भएका कारण कुवा (देन्वालो) को पानी सफा हुन्थ्यो तर पछिल्लो समय जीर्ण संरचनाका कारण पानी दुर्गन्धित हुने गरेको स्थानीय सूर्य बोहराले बताए। पछिल्लो समय देहीमाण्डौं बजार क्षेत्र र आसपासका ग्रामीण क्षेत्रमा घरघरमा धारा जडान गरिए पनि नुहाउन तथा कपडा धुन स्थानीयले यहीँ कुवाको पानी प्रयोग गर्ने गरेको स्थानीय व्यापारी भुपेन्द्र चन्दले बताए। ‘कुवा बाहिर नुहाउन कपडा धुन प्रयाप्त ठाउँ छ, पानी पनि प्रशस्त प्रयोग गर्न मिल्छ,' उनले भने, 'कुवाको संरक्षण नहुँदा जीर्ण भएको छ।'
कुवा वरिपरि घेर पर्खालको राम्रो व्यवस्था नहुँदा बर्सातको समयमा बजार क्षेत्रको भल कुवामा मिसिएर पानी फोहर हुने गरेको स्थानीयले गुनासो गरेका छन्। देहीमाण्डौंको मुख्य पानीको श्रोत संरक्षणका लागि स्थानीय सरकारले पहल गर्नुपर्ने माग गरिएको छ।
न्वालोको संरक्षणको विषयमा वडा नम्बर २ का अध्यक्ष सूर्यबहादुर बोहरासँग कुराकानी हुन सकेन भने नगर उपप्रमुख कौशिला चन्दले यो विषयमा वडालाई नै जिम्मेवारी तोकिएकाले बुझेर प्रतिक्रिया दिने बताए।