सुदूर नेपाललाई विश्वसँग जोड्दै

झापामा भएको झडपमा १० जना प्रहरीसहित २२ जना घाइते

२०८० वैशाख २७, ०९:०३ खबर संवाददाता

धनगढीः  कोशी प्रदेश नामकरणको विषयमा असन्तुष्टि जनाउँदै मङ्गलवार साँझ झापाको दमकमा भएको झडपमा १० जना प्रहरीसहित २२ जना घाइते भएका छन्।

कोशी प्रदेश नामाकरणको विरोधमा निस्केको राँके जुलुसको क्रममा भएको झडपमा परेर प्रहरी नायव उपरीक्षक मनोजकुमार लामा सहित २२ जना घाइते हुन्। करिब डेढ घण्टा दुई पक्षबिच झडप भएको थियो। जिल्ला प्रहरी कार्यालय झापाका अनुसार १० प्रहरी घाइते भएका छन्। राँको बालेर आएका आन्दोलनकारीहरूलाई दमकको मुख्य गणतन्त्र चोकमा प्रहरीले रोकेर राँको निभाउन खोजेपछि दुई पक्षबिच झडप सुरु भएको थियो।

झडपले उग्र रूप लिएपछि प्रहरीले बल प्रयोग गरेको थियो। आन्दोलनकारीहरूले प्रहरीमाथि आक्रमण गरेपछि भिडलाई तितरबितर गर्न र सार्वजनिक सम्पत्तिको सुरक्षाका लागि १९ सेल अश्रुग्याँस, पाँच राउन्ड ब्ल्याक फायर र एक राउन्ड हवाई फायर गरेको प्रहरीको भनाई छ।

घटनापछि दमकको सुरक्षा व्यवस्था थप कडा पारिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस