धनगढीमा शहरी विकासद्वारा ३५ किलोमिटर सडक कालोपत्रे
शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय धनगढीले ९१ किलोमिटर सडक धनगढीमा कालोपत्रे गर्नुपर्नेमा ३५ किलोमिटर सम्पन्न भएको छ। धनगढीका विभिन्न वडाहरुमा रहेका सडकहरुको २०७३ जेठ र २०७४ चैत्रमा गरी दुई आर्थिक वर्षमा ठेक्का सम्झौता भएको थियो। आर्थिक वर्ष २०७३/०७४ मा ठेक्का सम्झौता भएको ५० दशमलव २ किलोमिटरमा ३५ दशमलव ३५ किलोमिटर सडक कालोपत्रे पुरा भएको छ। लगभग ६५ करोडको लगानीमा ५० किलोमिटर सडक निर्माणको काम भइरहेको हो। पुनः ८० करोडको ४१ किलोमिटर सडक निर्माणको टेण्डर सम्झौता भएको शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय, धनगढीका सूचना अधिकारी, श्याम बुढाथुकीले बताए।
ज्योति स्कुल, सरस्वती–वैजनाथ टोल, कव्रीस्थान सडक, भिमनगर सडक लगायतका ६ दशमलव १५ किलोमिटर सडक ढलान गरिएको छ। ८ नम्बर प्याकेज अन्तरगतका पिपलचौतारा–जाई–मट्यारी सडक, जाली–उत्तर बिजुलीया सडक, तुल्सीचौक सडकमा जम्मा सात दशमलव ६ किलोमिटर कालोपत्रे पुरा भएको छ। २५ किलोमिटर धनगढी चक्रपथमा नौँ दशमलव ५९ किलोमिटर सडक कालोपत्रे सकिएको छ। फुलबारी–कोल्डस्टोर सडक, फुलबारी क्याम्पस रोड सडक, फुलबारी स्टेडिएम सडक, केदारबाबा मन्दिर, बेला–पटेला गरी आठ दशमलव ५५ किलोमिटर सडक कालोपत्रे निर्माणको काम पुरा भएको बुढाथोकीले बताए।
२०७३ जेठमा सम्झौता भएको ५० दशमलव २ किलोमिटर सडकको २०७६ जेठ सम्म समय अवधी रहेको छ भने २०७४ चैत्रमा सम्झौता भएको ४१ किलोमिटर सडक २०७७ चैत्र सम्म निर्माणको समय अवधी रहेको छ। सडक निर्माणको ठेक्का केएस–लुम्बिनी जेभी र रोयल जेभीले पाएका शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय, धनगढीका सूचना अधिकारी बुढाथुकीले बताए। धनगढी उप–महानगरपालिकाका विभिन्न वडाहरुमा शहरी विकास मन्त्रालयका कार्यक्रम अन्तगत ५० दशमलव २ किलोमिटरको आर्थिक बर्ष २०७३/०७४ मा ठेक्का भएकोमा ३५ दशमलव ३५ किलोमिटर कालोपत्रेको काम सकिएको हो। बाँकी १४ दशमलव ८५ किलोमिटरमा पनि काम जारी रहेको छ।