सुदूर नेपाललाई विश्वसँग जोड्दै

महेन्द्रनगर आँखा अस्पतालमा प्रत्येक दिन मोतिया विन्दुको शल्यक्रिया हुने

२०८० वैशाख २०, ०८:३९ खबर संवाददाता

धनगढीः महेन्द्रनगर आँखा अस्पतालले आधुनिक उपकरणबाट मोतिया विन्दुको शल्यक्रिया सुरु गरेको छ।

गत आइतबार अस्पतालले ‘फेको मेसिन’ भित्र्याएपछि नियमित शल्यक्रिया सुरु गरेको आँखा अस्पतालका इन्चार्ज डा खगेन्द्र उप्रेतीले बताए। ‘यसअघि अस्पतालसँग आफ्नै उपकरण नहुँदा हप्ताको एक दिन मात्रै शल्यक्रिया सेवा दिँदै आएको थियो।’ डा उप्रेतीले भने, ‘यहाँ दैनिक १० देखि १५ जनासम्म मोतिया विन्दुको शल्यक्रिया गर्नुपर्ने बिरामी आउँछन् अब नियमित सेवा सुरु भएको छ।’

यसअघि आफ्नो ‘फेको मेसिन’ नहुँदा गेटा आँखा अस्पतालबाट ल्याएर हप्ताको एक दिनमात्रै उक्त सेवा दिने गरिएको उनले बताए। ‘मोतिया विन्दुको समस्या देखिए तुरुन्त परीक्षण गराई उपचार गरिहाल्नुपर्छ ढिलाइ भए आँखाको ज्योति नै गुम्ने खतरा हुन्छ’, उनले भने, ‘जुनसुकै समयमा पनि शल्यक्रिया गर्न सकिन्छ।’ शल्यक्रिया गराउँदा दश हजार शुल्क लाग्ने अस्पतालले जनाएको छ।

नेत्रज्योति सङ्घका जिल्ला अध्यक्ष डा भोजराज पन्तले सुदूरपश्चिम प्रदेश सरकारबाट ३५ लाख बराबरको ‘फेको मेसिन’ प्राप्त भएपछि अस्पतालले नियमित शल्यक्रिया गर्न थालेको बताए। ‘हामीसँग मेसिन नहुँदा बिरामीलाई महेन्द्रनगर बाहिर पठाउनुपर्ने बाध्यता थियो’, उनले भने, ‘अब यहाँका बासिन्दाले न्यून शुल्कमै महेन्द्रनगरमै उपचार गराउन पाउनेछन्।’
 

कमेन्ट लोड गर्नुस