सुविच्छा कटेज र बिहानी युवा क्लब भजहर कपको सेमिफाईनलमा
धनगढी : कैलालीको कैलारी गाउँपलिका वडा नम्बर ८ लोहरपुरमा भईरहेको तेस्रो भजहर कप फुटबल प्रतियोगितामा सुविच्छा कटेज र बिहानी युवा क्लब विजयी भएका छन्। थारुहरुको पर्व भजहरको अवसरमा हरेक वर्ष हुदैं आएको भजहर कपको तेस्रो संस्करण पाँचौ दिनको खेलमा जित हात पार्दै सुविच्छा कटेज र विहानी युवा क्लब सेमिफाईनलमा प्रवेश गरेका हुन्।
पहिलो खेलमा सुविच्छा कटेज सेठकलियाले गौरीगंगा ११ स्पोर्टस क्लबलाई हरायो। खेलमा सुविच्छाले गौरीगंगामाथि ३–१ गेल अन्तरको जित दर्ता गरेको हो। दोस्रो खेलमा बिहानी युवा क्लबले वर पिपल युवा क्लबलाई हरायो। बिहानीले वरपिपललाई १–० ले किनारा लगायो।
श्री युवा जनहित क्लबको आयोजनामा भईरहेको प्रतियोगिताबैशाख २३ गतेसम्म आयोजना हुनेछ। पहिचानमा आधारित खेलकुद विकासमा हाम्रो रहर, थारु कला संस्कृति संरक्षणका लागि भजहर भन्ने नाराका साथ भईरहेको प्रतियोगिताको विजेताले नगद एक लाख तथा उपविजेताले नगद ५० हजार सहित ट्रफी प्राप्त गर्नेछ। प्रत्येक खेलको म्यान अफ द म्याचले नगद एक हजार पाउँदा विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई पनि पुरस्कार वितरण गरिने आयोजक श्री जनहित युवा क्लबका अध्यक्ष मणिराम चौधरीले जानकारी दिए।
थारु समुदायको पर्व भजहरलाई नयाँ पुस्तामा संरक्षण गर्दै अगाडी बढाउनका लागि गरिदै आएको प्रतियोगितामा फुटबल प्रतियोगिताका साथै पौराणिक खेलहरुको पनि आयोजना गरिएको छ। त्यसका साथै थारु कला संस्कृतिहरु पनि प्रस्तुत गरिरहेको आयोजकले जनाएको छ।