सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेपाल र युएईबीचको बाँकी फाइनल खेल आज

२०८० वैशाख १९, ०७:५६ खबर संवाददाता

काठमाडौं: एसीसी प्रिमियर कपमा आज मंगलबार सोमबार रोकिएको नेपाल र युएईबीचको फाइनल खेल सुचारु हुदैछ। सोमबार बाँकी रहेको खेल आज मंगलबार रिजर्भ डेमा हुदैछ। मंगलबार सोमबारकै स्थितिबाट युएईले ब्याटिङ सुरु गर्नेछ। 
टियु मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको युएईले २७ दशमलब ३ ओभरमा ९ विकेट गुमाउदै १ सय ६ बनाएको अवस्थामा खेल वर्षाका कारणले रोकिएको थियो।

युएईका लागि आसिफ खानले ५४ बलमा ७ चौका र १ छककाको सहयोगमा ५४ रन बनाए। खानलाई ललिनारायण राजवंशीको बलमा विकेट किपर आसिफ शेखबाट समातिए। ओपनर आर्यान लाक्राले २८ बलमा २३ रन बनाए। वसिल हमिद र आसिफ खानले छैटौं विकेटका लागि ३९ रनको साझेदारी गरेका थिए। 

वासिलले २७ बलमा १० रन बनाएका थिए। कप्तान तथा ओपनर मुहम्मद वासिमले १ चौका र १ छक्काको सहयोगमा ८ बलमा ११ रन बनाए। नेपालका लागि ललितनारायण राजवंशीले ४ दशमलब ३ ओभरमा ५ रन खर्चिएर ३ विकेट लिए। करण केसी र सन्दीप लामिछानेले समान २÷२ तथा गुलसन झा,सोमपाल कामीले समान १÷१ विकेट लिए।

नेपाल युएईलाई पराजित गरेर नेपाल पहिलो पटक एसिया कप खेल्ने लक्ष्यमा रहेको छ। उता, नेपालसँग जित हात पारेर युएई चौथोपटक एसिया कपमा स्थान बनाउन चाहन्छ। नेपाल र युएईबीचको खेल बिहान नौ बजेबाट टियु क्रिकेट मैदान कीर्तिपुरमा हुनेछ। सन् १९८४ बाट सुरु एसियाकपको १६ औं संस्करणको प्रतियोगितामा नेपाल पहिलो पटक सहभागीता जनाउने लक्ष्यमा रहेको छ।

 पहिलो सेमिफाइनलमा कुवेतसँगको खेल भारी वर्षाको कारण खेल रद्द भएपछि नेपाल समूह चरणमा गरेको प्रदर्शनको आधारमा फाइनलमा पुगेको हो। उता, युएईले दोस्रो सेमिफाइनल खेलमा ओमानलाई डीएल मेथडमा दुई रनले हराउँदै फाइनलमा स्थान बनाएको हो।

 नेपाल र युएईबीच २०१८ पछि भएको १३ खेलमा नेपाल सात तथा छ खेलमा जितेको छ। नेपाल र युएईबीचको पछिल्लो भेटमा नेपाल विजयी भएको थियो। सोमबार फाइनल खेल हुने टियु मैदानमा नेपाल पछिल्लो १५ खेलदेखि अपराजित रहेको छ। युएईसँग टियु मैदानमा भएको पछिल्लो चार खेलमा नेपाल अपराजित रहेको छ। 

युएई ब्याटरहरु पछिल्लो समयमा केही लयमा रहनु नेपालका लागि चुनौती हुनसक्छ। नेपालका बलरहरु त्यस चुनौतीलाई पन्छाउन तयार रहेका छन्। मंगलबार पनि वर्षाको कारण खेल हुन सकेन भने दुई सुपर ओभरबाट नतिजा निकाल्ने प्रयास हुनेछ। पहिलो सुपर ओभर बराबरी भएमा दोस्रो सुपर ओभर हुनेछ। 

तर, वर्षाको कारण सुपर ओभर पनि हुनसक्ने अवस्था नभएमा आइसीसीको एकदिवसीय अन्तराष्ट्रिय(ओडिआई) वरीयतामा माथि हुने टोली एसिया कपमा पुग्नेछ। आइसीसीको ओडिआई वरियतामा नेपाल १४ औं र युएई १९ औं स्थानमा छन्। खेल रद्द हुँदा नेपाल ओडिआई वरियताको कारण एसिया कपमा स्थान सुरक्षित गर्नेछ। एसिया कपमा स्थान बनाए नेपालले भारत र पाकिस्तानसँग खेल्न पाउनेछ।

कमेन्ट लोड गर्नुस