नेपाल र यूएईको बाँकी खेल भोलि हुने
धनगढीः एसीसी प्रिमियर कपको फाइनलमा नेपाल र यूएईबीचको खेल आज (सोमवार)का लागि स्थगित भएको छ।
वर्षाका कारण आजको खेल रोकिएको हो। कीर्तिपुरको त्रिवि मैदानमा टस हारेर ब्याटिङ गरिरहेको यूएईले २७ ओभर ३ बलमा ९ विकेट गुमाएर १ सय ६ रन बनाएको अवस्थामा खेल वर्षाका कारण रोकिएको हो। दिनभर झरी नरोकिएपछि अब खेल भोलि मङ्गलवारमात्रै हुने भएको हो।
अब यूएईले भोलि आजकै अवस्था अर्थात् २७ ओभर ३ बल– १ सय ६ रनको अवस्थाबाट खेल थाल्नेछ। आज यूएईलाई १ सय ६ रन बनाउँदा ९ विकेट गुमाउने अवस्था ल्याउन ललित राजवंशीले ३ तथा करण केसी र सन्दीप लामिछानेले २÷२ विकेट लिए। गुल्सन झा र सोमपाल कामीले १÷१ विकेट लिए।
भोलिको खेल पनि वर्षाले रोकिएमा ओभर घटाएर खेलाइनेछ। ओभर घटाएर पनि खेल सम्भव नभए सुपर ओभर खेलाइनेछ। सुपर ओभर पनि हुन नसक्ने अवस्थामा भने एकदिवसीय अन्तर्राष्ट्रिय वरीयताको आधारमा नेपाल विजेता हुनेछ र आउँदो सेप्टेम्बरमा पाकिस्तानमा हुने एसिया कपमा छनोट हुनेछ।
एसिया कपमा नेपालले भारत र पाकिस्तानसँग खेल्नेछ।