सुदूर नेपाललाई विश्वसँग जोड्दै

बागमती र कोसी प्रदेशबिच उपाधि भिडन्त

२०८० वैशाख १७, ०७:२२

धनगढीः धनगढीमा जारी १६ वर्ष मुनिको राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधिका लागि बागमती र कोसी प्रदेशले प्रतिस्पर्धा गर्ने भएका छन्। शनिवार भएको सेमिफाईनल खेलमा जित हात पार्दै दुबै टोली उपाधि भिडन्तमा पुगेका हुन। 

बागमतीले लुम्बीनी र कोसीले मधेश प्रदेशलाई हराउँदै फाईनलको यात्रा तय गरेका छन्। 

शनिवारको पहिलो सेमिफाईनलमा कोसीले मधेश प्रदेशलाई ५८ रनले हरायो। कोसीले पहिले ब्याटिङ गर्दै निर्धारित ३० ओभरमा ८ विकेट क्षतिमा १५४ रन बनायो। कोसीका लागि भुपाल दंगालले ३६ रन, शिवांस बजगाईले ३४ रन, अलिस मण्डलले २९ रन र आशिक मगरले अविजित २४ रन बनाए। मधेशका लागि अभिषेक तिवारीले ३ विकेट लिए। चन्दन रामले २ विकेट र रोहन शाहले एक विकेट लिए। 

प्रतिउत्तरमा मधेश प्रदेशले २४ दशमलव ५ ओभरमा सबै विकेट क्षतिमा ९६ रन मात्रै बनाउन सक्यो । उसका लागि निरज यादवले २८ रन, चन्दन यादवले २३ रन, अलि अंसारीले २० रन बनाए। अन्य खेलाडीले दोहोरो रन अंक छुन नसकेको अवस्थामा ४ जना खेलाडी शुन्यमा आउट भए। कोसीका लागि कृतिक कामतले ५ विकेट लिए। आशिक मगरले २ विकेट लिदा सौजन घिमिरे र प्रतिक पौडेलले एक एक विकेट लिए। 

दोस्रो सेमिफाईनल खेलमा बागमतीले लुम्बीनी प्रदेशलाई ७० रनले हरायो। पहिले ब्याटिङ गरेको बागमतिले निर्धारित ३० ओभरमा ८ विकेट क्षतिमा १७५ रन बनायो। बागमतिका लागि रोशन विकले ४६ रन, निश्चल श्रेष्ठले २३ रन र अर्थव पौडेलले २० रन बनाए। लुम्बीनीका लागि कमरान अहमद र सन्तोष यादवले दुई दुई विकेट लिए। 

प्रतिउत्तरमा लुम्बनी प्रदेशले २८ दशमलव १ ओभरमा सबै विकेट क्षतिमा १०५ रन मात्रै बनाउन सक्यो। उसका लागि प्रतिक भट्टराईले ४७ रन र सुदीप यादवले ११ रन बनाए। अन्य खेलाडीले दोहोरो रनअंक छुन सकेनन्। बागमतिका लागि विशाल खत्रीले ३ विकेट र रोशन विकले २ विकेट लिए। 

प्रतियोगिताको फाईनल खेल भोली धनगढी स्थित फाप्ला क्रिकेट मैदानमा हुनेछ। प्रतियोगिताको विजेताले नगद दुई लाख र उपविजेताले नगद एक लाख प्राप्त गर्नेछन्। त्यस्तै म्यान अफ द सिरिजले नगद १५ हजार, उत्कृष्ट ब्याट्सम्यान र बलरले जनही नगद १० हजार तथा प्लेयर अफ द म्याचले नगद दुई हजार प्राप्त गर्नेछन्। 

नेपाल क्रिकेट संघले मलेसियामा हुने १६ वर्षमुनिको ईस्ट जोन कप क्रिकेट प्रतियोगितालाई मध्यनजर गर्दै प्रतियोगिताको आयोजना गरेको हो। एसियन क्रिकेट काउन्सिलको कार्यक्रम अनुसार सो प्रतियोगिता अगामी जेठ ३ देखि १४ गतेसम्म मलेसियामा हुनेछ।  
 

कमेन्ट लोड गर्नुस