नेपाल एसीसी प्रिमियर कप पुरुष क्रिकेटको फाइनलमा
धनगढीः नेपाल एसीसी प्रिमियर कप पुरुष क्रिकेटको फाइनलमा प्रवेश गरेको छ।
कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा कुवेतविरुद्धको खेल रद्द भएसँगै नेपाल फाइनलमा पुगेको हो। भारी वर्षाको कारण नेपाल र कुवेतबीचको खेल रद्द भएको हो। खेल रद्द भएपछि नेपाल समूह विजेताको रुपमा फाइनल पुगेको हो। अब नेपालले फाइनलमा युएईसँग खेल्नेछ।
युएईले ओमानलाई डीएल पद्दतिको आधारमा २ रनले हराएको हो। वर्षाले खेल रोकिनु अघि ८ ओभर २ बलमा कुवेतले ६ विकेट गुमाएर ३७ रन जोडेको थियो। नेपालका करण केसीले ५ र सोमपाल कामीले १ विकेट लिएका थिए। त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४२ ओभरमा ९ विकेट गुमाएर २ सय ८१ रन बनाएको हो। वर्षाका कारण ४२ ओभरमा छोट्याईएको थियो।
नेपालका लागि कप्तान रोहित पौडेलले ९५ बलमा ७ चौका र ३ छक्काको सहयोगमा ९४ रनको अर्धशतकीय ईनिङ खेले। कुशल मल्लले ४४ बलमा ४ चौका र ४ छक्काको सहयोगमा ५७ रनको अर्धशतकीय ईनिङ खेले। ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेखले पहिलो विकेटका लागि ६५ बलमा ७७ रनको साझेदारी गरेका थिए। १० दशमलब ५ ओभरमा ७७ रन बनाएको अवस्थामा विकेट गुमाएको थिएन।
लगत्तै तीन विकेट गुमाएको नेपालका लागि चौथो विकेटका लागि कप्तान रोहित पौडेल र कुशल मल्लले १ सय ९ रनको सानदार साझेदारी गरेपछि नेपाल सम्मानजनक योगफलमा पुगेको हो। मल्ल सयद मोईबको बलमा ५७ रन बनाउँदै आउट भएपछि साझेदारी तोडिएको थियो। आरिफ शेखले १९ बलमा २ चौका तथा १ छक्काको सहयोगमा १९ रन बनाए। सोमपाल कामीले ११ बलमा १ चौका र १ छक्काको सहयोगमा अविजित १३ रन बनाए।
कुवेतका लागि कप्तान मोहम्मद अस्लाम र अदनान इद्रिसले समान ३÷३ तथा सयद मोनिव र यासिन पटेलले समान १÷१ विकेट लिए। फाइनल खेल अब सोमबार हुनेछ। विजेता टीमले एसिया कप खेल्न पाउनेछ।