धनगढीमा पाठ्यपुस्तक बिक्री गर्न सिण्डिसकेट! भन्छन् यो वर्ष छुट छैन
धनगढीः सुदूरपश्चिममा निजी विद्यालयका पुस्तकमा यो वर्ष छुट नमिलेको अभिभावकले गुनासो गरेका छन्। निजी विद्यालयले एकै कक्षामा ९ वटा किताव किन्न लगाएका छन् भने एकै पुस्तकको मूल्य ६ सय बढी लिने गरेका छन्। निजी विद्यालयका पुस्तक निकै महङ्गो भएको तर छुट भने एक रुपैयाँ पनि नपाएको अभिभावकले गुनासो गरेका छन्। निजी विद्यालयका कितावमा पुस्तक पसलहरूले छुट नदिएको अधिकांश अभिभावकको गुनासो छ।
सुदूरपश्चिम प्रदेशका पुस्तक व्यवसायीले भने अभिभावलाई यो वर्ष किताव किन्दा छुट नदिने नीति लिएका छन्। विगत वर्षमा विद्यालयका कितावमा १० देखि १५ प्रतिशत छुट दिँदै आएका पुस्तक व्यवसायीले यो वर्ष भने अङ्कित मूल्यमा १ रुपैयाँ छुट गर्न नपाउने नियम लगाएका हुन्।
नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी संघ प्रदेश तथा जिल्ला समितिले अभिभावकलाई छुट दिए पुस्तक पसललाई कारबाही गर्ने निर्णय गरेका छन्। पुस्तक व्यवसायीहरूले दस वर्षदेखि पुस्तकको मूल्य नबढेको तर लागत खर्च बढेको भन्दै छुट दिन नसकिएको नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी संघ कैलालीका अध्यक्ष भीम पडालले बताए। 'पुस्तकको मूल्य यो वर्ष पनि यथावत छ तर लागत खर्च सबै कुरामा बढेको छ,' उनले भने, ' कागजको मूल्य, बैंकको व्याँज, ढुवानी खर्च र पसल भाडा बढेको छ। हामीलाई पनि कमिसन १० प्रतिशत मात्रै आएको छ।'
नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी संघ, सुदूरपश्चिम प्रदेश र कैलाली जिल्ला समितिले अभिभावकलाई छुट नदिए पनि काठमाडौंमा भने व्यवसायीले निजी विद्यालयका पुस्तकमा २०-२५ प्रतिशतसम्म छुट दिने गरेको बताएका छन्।
पुस्तक लगाए वापद् विद्यालयहरूलाई मोटो रकम कमिसन दिने प्रकाशन र पुस्तक डिलरहरूले अभिभावकहरूका लागि भने एक रुपैयाँ छुट नदिने नीति लिएका छन्। पुस्तकमा लागत खर्च बढेकाले यो वर्ष कितावमा छुट दिन नसकिने नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी संघ सुदूरपश्चिम प्रदेश समितिका अध्यक्ष मेखराज दाहालले बताए। '२०७० देखि अहिलेसम्म दस वर्ष भयो सरकारले कितावको मूल्य बढाउन दिएको छैन। कागजको मूल्य बढेर प्रकाशनहरू पुस्तक छाप्नै नसक्ने अवस्थामा पुगेका छन्,' उनले भने, 'अहिले कितावमा छुट दिन सक्ने अवस्था नै छैन।
निजी विद्यालयका पुस्तकमा प्रकाशनहरूले केवल ४५ प्रतिशत मात्रै मूल्य लिने गरेका छन्। बाँकी ५५ प्रतिशत डिलर, पुस्तक विक्रेता र विद्यालयले मिलेर खाने गरेका छन्। विगतमा १५ प्रतिशत छुट दिने गरे पनि यो वर्ष भने पुस्तक व्यवसायी समितिले छुट दिएमा कारबाही गर्ने भनेकाले कुनै पनि पुस्तक पसलले १ रुपैयाँ पनि छुट दिएका छैनन्। अधिकांश ठुला डिलर र पुस्तक विक्रेताहरूका आफ्नै प्रकाशन गृह भएकाले पनि पुस्तक व्यवसायी संघको नाममा सिण्डिकेट लाद्ने र मूल्य ठटाएर लिने नीतिको सिकार सर्वसाधारण परेका हुन्।
काठमाडौंमा २० देखि २५ प्रतिशत छुट मिल्ने तर धनगढीमा १ रुपैयाँ पनि छुट दिँदा पुस्तक व्यवसायीलाई घाटा हुने तर्क साना पुस्तक पसलको नभएर ठुला डिलर र प्रकाशनमा लगानी भएकाहरूको भएको धनगढीका एक विद्यालयका शिक्षकले बताए।
जनक शिक्षाको सामाजिक अध्ययनको कितावको मूल्य १२० छ भने निजी विद्यालयको यहीँ कितावमा चार सय मूल्य तोकिएको छ। विद्यालहरूलाई अग्रिम कमिसन दिने प्रकाशन र डिलरहरूले यो वर्ष सर्वसाधारणलाई दिनुपर्ने छुट आफैंले खाएका छन्।