आजबाट महाकाली नदीको पूर्वी भंगालोको पुल दुई लेनमा सञ्चालन हुँदै
कञ्चनपुरः महाकाली नदीको पूर्वी भंगालोमा निर्माणाधीन चार लेनको पक्की पुल आजदेखि देखि पुनः सञ्चालनमा आउने भएको छ। पुलको एकतर्फको दुई लेन खोलेर आवागमन सहज गरिने भएको हो। पुलको दुवैतर्फ पर्खाल निर्माण गर्नुपर्ने भएकाले गत चैत ११ देखि पुलमा आवागमन बन्द गरिएको थियो। यसबीच पैदलयात्रु र ठूलासाना सबै किसिमका सवारीसाधन चल्न नसक्दा दोधारा–चाँदनी आवतजावत गर्ने सबैले सास्ती खेप्नुपरेको थियो।
पुलको दुवैछेउमा गहिरो खाल्डो खनेर पर्खाल निर्माण गरिएको छ। दुवैतर्फ पर्खाल निर्माण भएकाले पुलको काम लगभग पूरा भएको छ। पुलसँग जोडिने पहुँच मार्गको काम पनि अन्तिम चरणमा पुगेको छ। नदीमा पोखरीको काम पनि चलिरहेको निर्माण कम्पनी कुमार श्रेष्ठ सीएफईसी जेभीका इन्जिनियर किशोर कुमार पाण्डेयले बताए।
यसअघि पुलको दुवैतर्फ विंगस वाल निर्माण (पर्खाल) को काम सुरु भएकाले आवागमन बन्द गरिएको थियो। ठूलासाना सवारीसाधन र पैदल यात्रुलाई समेत आउजाउमा रोक लगाइएको थियो। दुवैतर्फ विंगस वाल निर्माण गर्नुपर्ने भएकाले बाटो ब्लक भएको थियो। नयाँ वर्षमा खोल्ने गरी काम सुरु गरिएपनि आजबाट मात्र पुल सुचारु हुने भएको हो। पुलको दुवै छेउमा गहिरो खाल्डो खनेर पर्खाल निर्माण गरिएको छ।
पक्की पुलमा आवागमन बन्द भएपछि दोधारा चाँदनीवासी समस्यामा परेका थिए। साना सवारीसाधन र पैदल यात्रुले झोलुंगे पुल भएर यात्रा गर्नुपर्ने बाध्यता थियो। ठूला सवारीसाधन ठप्प थिए। पुल निर्माणको काम चलिरहेकै बेला झन्डै दुई वर्षअघि निर्माण कम्पनीले डाइभर्सन बनाएर महाकालीपारिको दोधारा चाँदनीका बासिन्दालाई आउजाउ गर्न सहज गरिएको थियो।
अघिल्लो वर्षको भीषण बाढीले पहुँच मार्ग भत्काएपछि केही समय अवरुद्ध भएको आवागमन सडक निर्माणपछि पुनः सञ्चालन भएको थियो। अहिले पुलको पूर्वपट्टि भीमदत्त नगरपालिकातर्फको पोखरी निर्माणको काम चलिरहेको छ। बर्खाअगावै उक्त पोखरीको काम सक्ने लक्ष्य रहेको निर्माण कम्पनीले जनाएको छ।
बर्खापछि पश्चिमपट्टि दोधारा चाँदनीतर्फको पोखरी निर्माण हुनेछ। पुलको डिजाइनअनुसार दुवैतर्फ ६ सय मिटर चौडा र २६ सय मिटर लम्बाइका दुई पोखरी निर्माण गर्नुपर्नेछ। निर्माणाधीन चार लेनको पक्की पुललाई दोधारा चाँदनीमा बन्ने भनेको सुक्खा बन्दरगाहको प्रमुख पूर्वाधारका रूपमा लिइएको छ।