महाकाली करिडोर अन्तर्गत कञ्चनपुरमा २ बर्षदेखि रोकिएको काम सूचारु
महेन्द्रनगरः महाकाली करिडोरअन्तर्गत कञ्चनपुर खण्डमा २ बर्षदेखि रोकिएको काम सूचरु भएको छ। सो क्षेत्रमा पर्ने ११ किलोमिटर सडकमा रुख कटानको आदेश आउन ढिलाई हुँदा २ बर्षदेखि रोकिएको काम सूचारु भएको हो। हाल रुख कटानको आदेश आएपछि रुख कटानसँगै ट्रयाक खोल्ने काम सुरु भएको छ।
सव–डिभिजन वन कार्यालय ब्रम्हदेवले सडक क्षेत्रमा पर्ने रुखमा टाँचा लगाउने काम गरिरहेको महाकाली करिडोर आयोजनाका प्रमुख लक्ष्मणदत्त जोशीले जानकारी दिए। ‘कञ्चनपुर खण्डमा पर्ने रुख कटानको आदेश आएको छ, अहिले वनले रुखमा टाँचा लगाउने काम गरिरहेको छ’, उनले भने, ‘लामो समयपछि ट्रयाक खोल्ने काम सुरु भएको छ।’
दुई वर्षअघि दिवा सनीदेव जेभीले ब्रह्मदेवदेखि कञ्चनपुर खण्डमा पर्ने ११ किलोमिटर र डडेल्धुरा खण्डको ४ किलोमिटर गरेर १५ किलोमिटरको ठेक्का पाएको थियो। कञ्चनपुर खण्डमा ठेक्का सम्झौता भएको २ वर्षपछि ट्रयाक खोल्न थालिएको हो। डडेल्धुरा खण्डको ४ किलोमिटर सडकको ट्रयाक खोलिएको निर्माण कम्पनीका सञ्चालक देवीदत्त भट्टले जानकारी दिए।
‘कञ्चनपुर खण्डमा वनले रुखमा टाँचा लगाउँदैछ, सँगै हामी ट्रयाक खोल्दैछौँ’, उनले भने, ‘रुख काटेर घाट गद्दीमा राख्दैछौँ।’ करिडोरको जिरो प्वाइन्ट ब्रम्हदेव बजारदेखि कञ्चनपुर सीमासम्मको ११ किलोमिटर क्षेत्रमा पर्ने रुख कटान हुन नसक्दा काम अघि बढ्न सकेको थिएन। केही महिनाअघि मन्त्रिपरिषद्ले रूख कटान गर्न दिने निर्णय गरेको थियो।
वन विकास कोषमा रकम जम्मा गर्न ढिलाइ गरिँदा अन्यौल सिर्जना भएको थियो। कञ्चनपुर खण्डको ११ किलोमिटर ट्रयाक खुलेमा छिट्टै डडेल्धुराको जोगबुडासम्म सवारीसाधन गुडाउन मिल्ने भन्दै यस क्षेत्रका स्थानीय खुशी भएका छन्। महाकाली किनारका चार जिल्ला जोड्ने चार सय २५ किलोमिटर लामो सडकखण्डमध्ये दुई सय १५ किलोमिटरमा ट्रयाक खोलिएको छ।