धनगढी उपमहानगरले अपाङ्गता भएका २०१ जनालाई सहायता सामग्री दिने
धनगढीः धनगढी उपमहानगरले यो आर्थिक वर्षमा अपाङ्गता भएका २०१ जनालाई सहायता सामग्री दिने भएको हो। केहीलाई स्क्रिनिङ क्याम्पमै सहायता सामग्री दिएको उपमहानगरले बाँकीलाई पनि असार भित्र दिने भएको हाे उपमहानगरले अपाङ्गता भएका व्यक्तिलाई घटीमा १ हजार २ सय ५० देखि बढीमा ४५ हजार ९ सय २० मूल्य पर्ने सहायक सामग्री दिन लागेको हो।
उपमहानगरपालिकाले यो वर्ष २०१ जना अपाङ्गता भएका नागरिकलाई ३८ लाख बराबरका सहायता सामग्री वितरण गर्ने भएको हो। फूलबारी, उर्मा, जुगेडा र धनगढीमा अपाङ्गता परीक्षण शिविर चलाएको उपमहानगरले असारभित्र शिविरमा आएका सबै व्यक्तिलाई सहायता सामग्री दिने बताएको छ।
महेन्द्रनगरको सामाजिक संस्था एनएनएसडब्लुएको प्राविधिक तथा उपमहानगरको आर्थिक लगानीमा उपमहानगरका अपाङ्गता भएका नागरिककले सहायता सामग्री पाउने भएका हुन्। फूलबारी र उर्माका अपाङ्गता भएका व्यक्तिलाई १० दिन भित्रै सामग्री उपलब्ध गराइने प्राविधिक सहयोगको जिम्मा पाएको एनएनएसडब्लुएका सिनियर फन्ड रेजिङ अफिसर टेकबहादुर बुढाले बताए। 'उपमहानगरले १५ लाखमा हामीसँग सहायता सामग्रीका लागि सम्झौता गरेको हो,' उनले भने, 'त्यो रकम अपुग भएको छ। ३८ लाख हाराहारीमा लागत आउने भएको छ। १० दिनभित्र फुलबारी र उर्माका अपाङ्गता भएका व्यक्तिलाई सामग्री दिने तयारीमा छौँ। सामान भन्सारमा आइपुगेको छ।'
उपमहानगरले अपाङ्गता भएका व्यक्तिहरूलाई ह्वीलचेयर, बैसाखी, लट्ठी कृत्रिम हात खुट्टा, ट्राइसाइकल र ट्वाइलेट चेयर प्रदान गर्ने भएको हो। सुरूमा १५ लाखको सम्झौता गरेको उपमहानगरले त्यो रकम भुक्तनी गरेको छ भने थप रकम दिन निर्णय भएकाले शिविरमा आएका सबैले असारभित्रै सहायता सामग्री पाउने भएका हुन्।
धनगढीका २०१ अपाङ्गता भएका व्यक्तिलाई सहायता सामग्री वितरण गर्दा सबैभन्दा बढी ४१ जना वडा नम्बर १६ का रहेका छन्। वडा नम्बर १ का १३ जना, २ का ८ जना, वडा नम्बर ३ का ५, ४ नम्बर वडाका ५, वडा नम्बर ५ का ७ जना अपाङ्गता भएका व्यक्तिले सहायता साम्रग्री पाउने भएका हुन्। यस्तै, वडा नम्बर ६ का ४ जना, ७ नम्बर वडाका ४ जना, वडा नम्बर ८ का २ जना, वडा नम्बर ९ का ९ जना, १० नम्बर वडाका ४ जना, ११ नम्बर वडाका ५ जना, १२ नम्बर वडाका ३३ जना, १३ नम्बर वडाका ३ जना, १४ का ६, १५ का ४, वडा नम्बर १७ का १० जना, वडा नम्बर १८ र १९ का क्रमशः २७ र ११ जना अपाङ्गता भएका व्यक्तिले निःशुल्क सहायता सामग्री पाउने भएका हुन्।
अपाङ्गता शिविरमा आएका र हालसम्म कुनै निकायबाट सहायता सामग्री नपाएका व्यक्तिले सामग्री उपलब्ध गराउने निर्णय उपमहानगरले गरेको महिला विकास अधिकृत पंकजा जोशीले बताए। 'थप बजेट सुनिश्चित भएको छ। कार्यपालिकाबाट निर्णय भएको छ,' उनले भने, 'शिविरमा आएका सबैलाई सहायता सामग्री प्रदान गरिने छ।'
उपमहनगरले अपाङ्गता भएका व्यक्ति शारीरिक रुपमा अशक्त र आर्थिक रुपमा पनि कमजोर हुने भएकाले सहायता सामग्री निःशुल्क वितरण गर्ने योजना ल्याएको हो।