शैक्षिक सत्र सकिन पाँच दिन बाँकी, छात्रवृत्तिको रकम प्रदेश सरकारकै खातामा
सुदूरपश्चिम प्रदेश सरकारले शैक्षिक सत्र सकिन पाँच दिन मात्र बाँकी रहेका बेला विभिन्न तहका विद्यार्थीलाई लक्षित गर्दै ल्याएको छात्रवृत्ति कार्यक्रम कार्यान्वयन गर्न सकेको छैन्। प्रदेश सरकारले चालु आर्थिक वर्ष २०७५÷७६ को वार्षिक कार्यक्रममा समावेश गरेका छात्रवृत्ति कार्यक्रम कार्यान्वयन गर्न नसकेको हो। आज बसेको प्रदेशसभा बैठकमा विशेष समय लिएर बोल्दै प्रदेशसभा सदस्य पूर्णा जोशीले शैक्षिक सत्र सकिनै लाग्दा समेत छात्रवृत्ति वितरण नगरिएको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छन्।
उनले शैक्षिक सत्र सकिनै लाग्दा समेत छात्रवृत्ति वितरणको प्रक्रिया सुरु नुहुनुको कारण के हो ? भन्दै प्रश्न गरिन्। प्रदेश सरकारले विभिन्न तहमा उत्कृष्ठ नतिजा हासिल गर्ने, विद्यालय तहका विद्यार्थी र उच्च शिक्षा अध्ययन गर्न चाहाने विद्यार्थीका लागि विभिन्न छात्रवृत्तिका कार्यक्रम घोषणा गर्दै बजेट समेत विनियोजन गरेको छ।
सरकारले जनआन्दोलनका घाइते, शहिद परिवार, पीडित वेपत्ता परिवारका बालबालिका लागि शहीद दशरथ चन्द छात्रवृत्ति, माध्यमिक तहमा स्थानीय स्तरमा सर्वोत्कृष्ट नतिजा हासिल गर्ने छात्राहरुलाई स्नातक अध्ययनका लागि जयपृथ्वी सिंह छात्रवृत्ति, माध्यमिक तहमै सर्वोत्कृष्ट नतिजा ल्याउने दलित, जनजाती, वादी, राउटे समुदायका विद्यार्थीका लागि टिकाराम पार्की छात्रवृत्ति कार्यक्रमका लागि बजेट विनीयोजन गरेको छ।
तर आवश्यक कार्यविधी नहु्दा छात्रवृत्ति वितरणमा ढिलाई भएको हो। सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयका शैक्षिक योजना तथा अनुसन्धान महाशाखाका उप सचिव झंकर विष्टले कार्यविधी तयार गरेर मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा पठाईएको जानकारी दिए। उनले छात्रवृत्तिका सबै कार्यक्रम कार्यान्वयनका लागि एकिकृत कार्यविधी बनाईएकाले मन्त्रीपरिषद् बैठकबाट पारित भएपछि प्रक्रिया अगाडी बढाईने बताए। तर कार्यक्रममा विद्यालय स्तरको छात्रवृत्ति नभएकाले शैक्षिक सत्रसंग यसले खासै सरोकार नराख्ने दावी गरिएको छ।