सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा सवारी दुर्घटना, प्रहरी जवानसहित तीन घाइते

२०८० वैशाख १३, ०९:३१ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरमा स्कारपियोले मोटरसाइकललाई ठक्कर  दिँदा प्रहरी जवानसहित तीन जना घाइते भएका छन्।

शुक्लाफाँटा नगरपालिका–११ कलुवापुर बजारमा मंगलवार धनगढीबाट महेन्द्रनगरतर्फ जाँदै गरेको से १ प २०८७ नम्बरको स्कारपियोले सोही दिशातर्फ गइरहेको सुदुरपश्चिम प्रदेश ०१–०११ प ७३४९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार तीन जना घाइते भएको ईलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक सुर्य बहादुर शाहीले बताए।

उनका अनुसार घाइते हुनेहरुमा ईलाका प्रहरी कार्यालय बेलडाँडीमा कार्यरत प्रहरी जवान निरज चौधरी सहित उनकी श्रीमती ललिता चौधरी र छोरी रहेकी छन्। प्रहरीका अनुसार प्रहरी जवान निरजको हात र खुट्टामा चोट लागेको छ। उनको अवस्था सामान्य रहेको छ। त्यस्तै उनकी श्रीमती ललिता चौधरीको कम्मरमा चोट लागेको र अवस्था मध्यम रहेको छ।

छोरी जेनिशाको भने बाह्य चोट देखिएको छैन्। घाइते तीनै जनाको धनगढीस्थित निसर्ग अस्पतालमा उपचार भइरहहेको प्रहरी निरीक्षक शाहीले जानकारी दिए। प्रहरीले गाडीसहित चालक भीमदत्त नगरपालिका–१० सुकसालका दिपक लुहारलाई नियन्त्रणमा लिएको बताएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
 

कमेन्ट लोड गर्नुस