कञ्चनपुरको भीमदत्तमा श्रम स्वीकृति दिन सुरु
कञ्चनपुरः कञ्चनपुरको भीमदत्त नगरपालिकाले सोमवारदेखि व्यक्तिगत श्रम स्वीकृति तथा पुनः श्रम स्वीकृति दिन शुरु गरेको छ। स्थानीय तहबाट श्रम स्वीकृत प्रदान गर्ने भीमदत्त नगपालिका सुदूरपश्चिम प्रदेशकै पहिलो पालिका हो। वैदेशिक रोजगारमा जान चाहने स्थानीय नागरिकले नगरको रोजगार सेवा केन्द्रबाट श्रम स्वीकृति लिन सकिने जनाइएको छ।
भीमदत्त नगरपालिकाले २ जना स्थानीयलाई सोमबार श्रम स्वीकृत प्रदान गरेको छ। वडा नम्बर–९ निवासी आनन्द सिंह रावत र वडा नम्बर–८ निवासी भवान सिंह भण्डारीलाई भीमदत्त नगरपालिकाका नगर उपप्रमुख तथा कार्यवाहक नगरप्रमुख नीलम लेखक जोशीले खादा ओडाएर श्रम स्वीकृत पत्र प्रदान गरेकी हुन्।
सोमवारदेखि नगरको रोजगार सेवा केन्द्रमा आवेदन गरी श्रम स्वीकृति तथा पुनः श्रम स्वीकृति लिन सकिने भीमदत्त नगरपालिकाका कार्यवाहक नगर प्रमुख जोशीले बताइन्। बैदेशिक रोजगार ऐन, २०६४ तथा वैदेशिक रोजगार नियमावली, २०६४ मा भएको व्यवस्थाअनुसार वैदेशिक रोजगारमा जान चाहने हरेक नागरिकले अनिवार्य श्रम स्वीकृति लिनुपर्ने व्यवस्था गरेको छ।
सरकारले स्थानीय तहमा रहेका रोजगार सेवा केन्द्रलाई वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (फेमिस) मा जोडेर विदेश जानका लागि अनलाइन आवेदन भर्न नसक्नेका लागि निःशुल्क रुपमा आवेदन भरिदिने व्यवस्थासमेत गरेको छ।