सुदूर नेपाललाई विश्वसँग जोड्दै

यु–१६ क्रिकेट प्रतियोगितामा सुदुरपश्चिमको सानदार जित 

२०८० वैशाख १०, ०७:१५ खबर संवाददाता

धनगढीः कैलालीको धनगढीमा आजदेखि एनआईएमबी सुदुरपश्चिम मुख्यमन्त्री १६ बर्ष मुनिको राष्ट्रिय क्रिकेट प्रतियोगिता सुरु भएको छ।

सुदुरपश्चिम प्रादेशिक क्रिकेट संघको आयोजनामा सात प्रदेशको सहभागीता रहेको एनआईएमबी सुदुरपश्चिम मुख्यमन्त्री–१६ बर्ष मुनिको राष्ट्रिय क्रिकेट प्रतियोगिता आजदेखि सुरु भएको हो। प्रतियोगिताको उद्घाटन खेलमा सुदुरपश्चिम प्रदेश विजयी भएको छ। धनगढीको फाप्ला क्रिकेट मैदानमा भएको उद्घाटन खेलमा सुदुरपश्चिमले कर्णाली प्रदेशलाई ९७ रनले हराएर प्रतियोगितामा विजयी सुरुवात गरेको हो।

सुदुरपश्चिम प्रदेशका कप्तान नरेन भट्टको पारीको मदत्तले सुदुुरपश्चिमले पहिलो खेलमा सानदार जित निकालेको हो। टस जितेर पहिले ब्याटिङ गरेको सुदुरपश्चिम प्रदेशले निर्धारित ३० ओभरमा ९ विकेटको क्षतिमा एक सय ४७ रन बनायो। कप्तान नरेन भट्टले अर्धशतकीय पारी खेले। उनी ६६ बलमा ७१ रनमा अविजित रहे। सुदुरपश्चिमका लागि रिक्तीक थापाले १८, रविन भण्डारी र आशिष बलायरले १२÷१२ रन तथा युवराज खत्रीले ११ रन बनाए। कर्णाली प्रेशका लागि दिप पौडेल र आदित्य विक्रम शाहले तीन तीन विकेट लिए।

एक सय ४८ रनको विजय लक्ष्य पछ्याएर मैदान उत्र्रिएको कर्णाली प्रदेशले १९ दशमलव ३ ओभरमा सबै विकेट गुमाउँदै ५० रन मात्रै बनाउन सक्यो। यसका लागि आदित्य विक्रम शाहले २० रन बनाए। अन्य खेलाडीहरुले दोहोरो रन अंक बनाउँन सकेनन्। सुदुरपश्चिम प्रदेशका भुपेश जोशी, अशोक धामी र सचिन मल्लले तीन तीन विकेट लिए। विक्रम साउँदले एक विकेट लिए।Open photo

खेलमा उत्कृष्ट प्रदर्शन गरेका सुदुरपश्चिम प्रदेशका कप्तान नरेन भट्ट म्यान अफ द म्याच भए। उनले नगद दुई हजार सहित ट्रफी पाए। प्रतियोगिता अन्तर्गत भोली दुई खेल हुनेछन्। लुम्बिनी प्रदेश र मधेश प्रदेशले पहिलो तथा बागमति प्रदेश र गण्डकी प्रदेशले दोस्रो खेल खेल्नेछन्। सुदुरपश्चिम प्रादेशिक क्रिकेट संघको आयोजनामा सुरु भएको प्रतियोगिता बैशाख १७ गतेसम्म सञ्चालन हुनेछ। प्रतियोगिताको सुदुरपश्चिम प्रदेशका प्रदेश प्रमुख देवराज जोशीले उद्घाटन गरेका हुन्।

प्रतियोगिताको विजेताले दुई लाख र उपविजेताले एक लाख प्राप्त गर्नेछन्। त्यस्तै म्यान अफ द सिरिजले नगद १५ हजार, उत्कृष्ट ब्याट्सम्यान र बलरले जनही १० हजार तथा प्लेयर अफ द म्याचले दुई हजार प्राप्त गर्नेछन्। नेपाल क्रिकेट संघले मलेसियामा हुने १६ वर्षमुनिको ईस्ट जोन कप क्रिकेट प्रतियोगितालाई मध्यनजर गर्दै जिल्ला, प्रदेश हुँदै राष्ट्रिय प्रतियोगिताको आयोजना गरेको हो।

एसियन क्रिकेट काउन्सिलको कार्यक्रम अनुसार सो प्रतियोगिता अगामी जेठ ३ देखि १४ गतेसम्म मलेसियामा हुनेछ। सोही प्रतियोगितामा नेपाली टोली पनि सहभागी हुने नेपाल क्रिकेट संघले जनाएको छ। यसै प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्ने २४ जना खेलाडीहरुलाई बन्द प्रशिक्षणमा राखेर त्यसबाट उत्कृष्ट १४ जनालाई १६ बर्ष मुनिको नेपाली राष्टिय पुरुष क्रिकेट टीम बनाईने नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्दले बताए।

Open photo

कमेन्ट लोड गर्नुस