सुदूर नेपाललाई विश्वसँग जोड्दै

अब धनगढी र कनरी पार्कमा ‘म्युजिकल फाउन्टेन’ डिपिआरका लागि सूचना

२०८० वैशाख ८, ०६:३३ नारायण अवस्थी

धनगढीः धनगढी उपमहानगरपालिकाले दशरथ–भीम उद्यान र कनरी पार्कलाई अत्याधुनिक पार्कका रुपमा विकास गर्ने भएको छ। १२ वर्षदेखि सार्वजनिक साँझेदारीअन्तर्गत स्वाँर कन्स्ट्रक्सनले सञ्चालन गर्दै आएको धनगढी पार्कलाई ठेकेदार कम्पनीबाट आफ्नो मातहतमा ल्याएसँगै पार्कको विकासका लागि डिपिआर तयार गर्न आसयपत्रका लागि सार्वजनिक सूचना निकालिएको छ।

धनगढी पार्क र कनरी पार्कलाई नमुना पार्कका रुपमा विकास गर्न उपमहानगरले काम थालेको नगरप्रमुख गोपाल हमालले बताए। ‘धनगढी पार्क र कनरी पार्कलाई अत्याधुनिक पार्कको रुपमा विकास गर्न डिपिआर बनाउन सूचना निकालेका छौँ,’ उनले भने, ‘दुबै पार्कलाई घुम्न र हेर्न योग्य बनाउने उपमहानगरको योजना छ।’

धनगढी र कनरी पार्कमा सभा सम्मेलन, सेमिनार तथा वहुउद्येश्यीय प्रयोगका ल्याउने गरी विकास गर्ने योजना उपमहानगरको छ। धनगढी पार्कमा म्युजिकल फाउन्टेन राख्ने, साँझको समय व्यतित गर्न सहज हुने गरी पार्कलाई अत्याधुनिक बनाइने छ। यस्तै, कनरी पार्कमा स्वीमिङ पुल सञ्चालनमा ल्याएर आन्तरिक पर्यटका लागि वनभोज तथा भ्रमण गर्ने थलोका रुपमा विकास गर्ने नगरप्रमुख हमालले बताए।

धनगढी र कनरी पार्क बनाउँदा उपमहानगरले विज्ञहरुको परामर्श मात्रै नलिएर नगरवासीको सुझाव र सल्लाहलाई पनि ग्रहण गर्ने छ। नगरवासीले परिकल्पना गरेको धनगढी र कनरी पार्क कस्तो छ भनेर सर्वसाधारणबाट सुझाव माग गरिने र ती सुझावहरूलाई योजनामा स्थान दिने नगप्रमुख हमालले बताए।

‘हामी एक दुई दिनभित्र नगरवासीलाई पनि धनगढी पार्क र कनरी पार्कमा कस्तो हुनुपर्छ भनेर सुझाव र सल्लाह माग्ने छौँ,’ उनले भने, ‘नगरवासीले दिएका सल्लाह र सुझावहरूलाई पनि योजनामा समेट्ने छौँ।’ धनगढी पार्कको विगत १२ वर्षदेखि भइरहेको शोषणको अन्त्य गर्दै कनरी र धनगढी पार्कलाई अत्याधुनिक पार्क बनाउने प्रक्रियाको थालनी हुने भएको हो। बजार क्षेत्रमा रहेको दशरथ– भीम उद्यान र वडा नम्बर १५ कनरीमा रहेको कनरी पार्कलाई नयाँ स्वरुप प्रदान गरिने बताइएको छ।
 

नारायण अवस्थी दिनेश खबरका सहायक सम्पादक हुन्। उनले शिक्षा, स्वास्थ्य र कृषि विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस