बर्ड फ्लू भेटिएपछि सचेत रहन पशु चिकित्सकको आग्रह
काठमाण्डौ उपत्यकासहित मोरङ र सर्लाहीमा बर्ड फ्लू देखिएपछि सचेत रहन पशु चिकित्सकले आग्रह गरेका छन्। सकेसम्म कुखुरालगायत पशुको मासु नखान, रोग भेटिएको आसपासका ठाउँबाट पन्छिको मासु नकिन्न, र खानै परे राम्रोसँग पकाएर मात्र खान पशु सेवा विभागका उपमहानिर्देशक सम्झना काफ्लेले आग्रह गरे।
व्यवसायीलाई पनि रोगबाट संक्रमित ठाउँबाट पन्छी नकिन्न पनि उनले सुझाव दिएका छन्। खानेलाई भन्दा मासु काट्ने, किनेर ल्याउने, कुखुराको हेरचाह गर्नेलाई रोग सर्ने जोखिम धेरै हुने चिकित्सकहरुको भनाइ छ। काठमाण्डौमा काग र कुखुरामा बर्ड फ्लू भएको पुष्टि भएपछि निगरानी बढाइएको पशु सेवा विभागले जनाएको छ। काठमाण्डौको नारायणहिटी दरबार र बेलायती दुतावास रहेको क्षेत्रमा मरेका भेटिएका झण्डै ३ सय कागमा बर्ड फ्लू भएको पुष्टि भएपछि थप निगरानी बढाइएको पशु सेवा विभागका उपमहानिर्देशक काफ्लेले जानकारी दिए।
जंगली पन्छीमा देखिएको बर्ड फ्लू नियन्त्रण गर्न अत्यन्तै गाह्रो हुने उनको भनाइ छ। बर्डफूलू भएर मरेका पन्छीलाई तत्कालै गाड्ने र सक्रमण देखिने वित्तिकै नष्ट गर्ने, फार्मको जैविक सुरक्षा गर्ने, अरु पन्छीको पनि खोर ब्यवस्थित गर्नेलागयतका काम भइरहेको उनले बताए। बाहिरी देशका कतिपय ठाउँका पन्छीमा पनि बर्डफ्लूको संक्रमण देखिएकाले ती देशबाट आउने मौसमी पन्छीले पनि नेपालमा बर्ड फ्लू सारेको हुनसक्ने उनले बताए।
काठामाण्डौ भक्तपुर र ललितपुरका केही कुखुरा फार्ममासमेत अहिले बर्ड फ्लू भेटिएका छन्। यस्तै मोरङका दुईवटा र सर्लाहीको एउटा कुखुरा फार्ममा पनि बर्ड फ्लू पुष्टि भएको छ। ती क्षेत्रका धेरैजसो २४ देखि २८ हप्ताका लेयर जातका कुखुरामा बर्ड फ्लू भेटिएको पशुसेवा विभागले जनाएको छ।